अमरराज नहर्की
तनहुँ, माघ १० गते । तनहुँमा १४ हजारभन्दा बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । दुई चरणमा गरी सो खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका अनुसार पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका देवघाट गाउँपालिका, आबुँखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका गरी पाँच पालिकाका ४४ वटा वडामा खोप लगाइनेछ ।
दोस्रो चरणमा माघ २७ देखि ३० गतेसम्म शुक्लागण्डकी नगरपालिका भिमाद गरपालिका, म्याग्दे गाउँपालिका ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका पाँच पालिकाका ४१ वटा वडामा खोप लगाइनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई सो खोप लगाइनेछ । खोपका लागि दुई सय ५९ वटा आधारभूत र माध्यमिक विद्यालयलाई केन्द्र तय गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार जिल्लाभर दुई सय ५९ जना स्वास्थ्यकर्मी र ५१८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । उक्त अभियानमा तनहुँका १४ हजार २७८ जना उक्त उमेर समूहका किशोरीहरुलाई एचपिभी खोप दिइने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार जिल्लामा विद्यालय जाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीको सङ्ख्या १४ हजार ७८ र विद्यालय नजाने उक्त उमेर समूहका किशोरीको सङ्ख्या दुई सय छ । विद्यालय जाने उक्त उमेर समूहका किशोरीको सङ्ख्या सबैभन्दा धेरै व्यास नपामा तीन हजार आठ सय ४५ छ भने सबैभन्दा कम घिरिङ गाउँपालिकामा पाँच सय ८० छन् ।
त्यसैगरी विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीको सङ्ख्या सबैभन्दा धेरै शुक्लागन्डकी नगरपालिकामा एक सय १५ जना छन् । त्यसपछि बन्दिपुर गाउँपालिकामा ३६ जना छन् । विद्यालय नजाने उक्त उमेर समूहका किशोरीहरु भानु नगरपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकामा शून्य छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये एक हजार ३१३ जनाको उक्त रोगले गर्दा मृत्यु हुने गर्छ । हरेक दिन चार महिलाको पाठेघरको क्यान्सरले गर्दा मृत्यु हुने गरेपछि सरकारले १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।