• १५ चैत २०८०, बिहिबार

४० वटा विद्युतीय बसबाट साझाले सेवा विस्तार गर्दै, सडकको अवस्था परीक्षण सुरु

blog

साझाले बुधबार साँझ आठ जना यात्रुसहित ८४ बोरा सिमेन्ट राखेर बसको परीक्षण गरिदै । तस्विर सौजन्यः कुन्दनमणी दिक्षित

काठमाडौं, जेठ १२ गते । साझा यातायातले काठमाडौं उपत्यकामा विद्युतीय वस सञ्चालनका लागि सडकको अवस्था परीक्षण गरेको छ । व्यवसायिक रुपमा बस सञ्चालनका लागि एक साता अघि तीनवटा बस खरिद गरी रात्रीकालिन अवस्थामा सडकको अवस्था परीक्षण सुरु गरेको जनाएको हो । 

साझाले बुधबार साँझ आठ जना यात्रुसहित ८४ बोरा सिमेन्ट राखेर बसको परीक्षण गरेको थियो । एक पटक पुरा चार्जमा बसको पुर्ण क्षमता (पे लोड) मा कति गुड्न सक्छ, काठमाडौं र आसपासका सडकको अवस्था अनुसार गुड्न सक्ने नसक्ने र बसको ग्राउण्ड क्लिरेन्सको अवस्था कस्तो रहेको छ जस्ता अवस्थाको परीक्षण भएको साझा यातायात प्रालिका सदस्य भुसण तुलाधरले जानकारी दिनुभयो । सडकको अवस्था हेरेर परीक्षणको रिपोर्ट आएपछि थप अध्यन गरेर बाँकी ३७ वटा गरी पहिलो चरणमा जम्मा ४० वटा विद्युतीय वस सञ्चालन गर्ने तयारीमा रहेको तुलाधरले बताउनुभयो । 

 सडकको अवस्था हेरेर परीक्षणको रिपोर्ट आएपछि थप अध्यन गरेर बाँकी ३७ वटा गरी पहिलो चरणमा जम्मा ४० वटा विद्युतीय वस सञ्चालन गर्ने तयारी

हाल ७१ वटा डिजलबाट गुड्ने गाडीले सेवा दिँदै आएको साझाले वातावरणमैत्री सवारीसाधन सञ्चालन गर्ने लक्षसँगै तीन महिनाभित्र बस काठमाडौं ल्याई सक्ने कम्पनीले जनाएको छ । खरिद गरिने एउटा बसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने साझाले जनाएको छ, भने कर, चार्जिङ स्टेशन, पाँच वर्षको मर्मत खर्च, भ्याट र कर सहित प्रतिबस एक करोड ५२ लाख लाग्ने साझाले जनाएको छ । बस एकपटक ब्याट्री चार्ज गर्दा दुई सय किलोमिटर गुड्नेछ भने बसमा १६१ किलोवाट पर आवरको ब्याट्री जडान भएकाले चार्ज गर्न चार घण्टा लाग्नेछ । डिजल, पेट्रोलबाट गुड्ने बसभन्दा विद्युतीय बस तीन गुणा सस्तो पर्ने साझा कम्पनीले निष्कर्ष निकालेको छ ।

एउटा बसको मूल्य करबाहेक एक करोड पाँच लाख पर्ने साझाले जनाएको छ, भने कर, चार्जिङ स्टेशन, पाँच वर्षको मर्मत खर्च, भ्याट र कर सहित प्रतिबस एक करोड ५२ लाख

एकातिर डिजल र पेट्रोलको मुल्य दिनानुदिन बृद्धि हुने क्रममा छ । सन् २०३० सम्ममा विश्वबाट इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने लक्ष्य राखेको छ । विद्युतीय सवारीसाधन प्रयोगलाई प्राथमिकता दिदै इन्धनबाट गुड्ने सवारीसाधनलाई विस्तापित गर्दै सन् २०३० सम्ममा विस्थापित गर्ने गरी नेपालले समेत सहमती जनाएपनि हाल विद्युतीय सवारीसाधन प्रयोगको दर भने बड्न सकेको छैन । सरकारी कार्यालयहरुले भने विद्युतीय बस खरिदमा कम चासो देखाएको पाइदैन । 

साझा बसले चीनको सीएचटीसी कम्पनीबाट पहिलो चरणमा ४० वटा बस खरिद गर्ने गरी टेन्डर स्वीकृत गरी सकेको तुलाधरले जानकारी दिनुभयो । साझाले गरेको बोलपत्र आव्हानमा नौ वटा चिनियाँ कम्पनी सहभागी भएमध्ये सीएचटीसी किनवेन (नान्जिङ) कम्पनीलाई छनोट गरेको जनाएको छ । ४० वटा बसको क्षमता र फर्ममेन्स हेरेर फेरी २० प्रतिशतसम्म गाडी थप गर्ने छौ, समितिको बैठकमा सहमती भए तत्काल ४८ वटा गाडी खरिद गर्ने उहाँले बताउनुभयो । 

साझाले तोकेको मूल्यभन्दा २७ प्रतिशत सस्तोमा गाडी काठमाडौं ल्याइने भएसँगै साझाले लक्ष्य भन्दा बढी गाडी थप गर्ने गरी निर्णय गर्न सक्ने भएको हो । चालक र ह्वीलचेयरसहित २६ सीट क्षमताको गाडीले ललितपुर र काठमाडौंमा सेवा विस्तार गर्ने छ । यो गाडी अपाङगमैत्री हुने साझाले जनाएको छ ।

हाल सुन्दर यातायातले चीनमा निर्मित विएके कम्पनी छ वटा गाडीले काठमाडौं रिङरोडमा सेवा दिँदै आएको छ भने चीनमै निर्मित बीवाइडी लुम्बिनी १० वटा लुम्बिनी क्षेत्रमा सञ्चालनका लागि ल्याईएको भए पनि दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । साझा वसको सेयर नेपाल सरकारले खरिद गरेपछि बस खरिदको प्रकृया अघि बडेको थियो । सरकारले साझामा तीन अर्बको सेयर लगानी गरेको छ ।

विद्युतीय बस सञ्चालनमा आउने भएपछि यसका लागि अत्यावश्यक पर्ने पूर्वाधार चार्जिङ स्टेशन, ब्याट्रीको व्यवस्थापन लगायतका विषयमा सरकारसँग सहकार्य गरी साझाले पहल सुरु गरेको जनाएको छ । व्यपार घाटा कम गर्न मात्र नभएर वातावरणमैत्री सवारीसाधनको सञ्चालनमा जोड दिनु पर्ने वातावरणकर्मीहरुले आवाज उठाउदै आएका छन् । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।