लेखनाथ समाचारदाता
लेखनाथ, माघ १० गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई कठिन अवस्थाबाट लयमा ल्याएको उल्लेख गर्दै ऋण र अनुदानबाहेकको मोडेलमा जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले राजस्वले साधारण खर्च धान्नै मुस्किल छ । ऋण लिएर कमजोर कार्यान्वयन प्रणालीबाट परिणाम निकाल्न सकिँदैन । अब ऋण र अनुदानको विकल्प पनि खोज्नै पर्छ ।” उहाँले वैकल्पिक वित्त व्यवस्थापनका अनेक मोडेल भएको चर्चा गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउन ऐन निर्माण भइरहेको खुलाउनुभयो ।
नेकपा (एमाले) कास्कीले बुधबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अहिले नतिजामूलक काम तीव्र गतिमा गर्न रोक्ने खालका २९ कानुनलाई एकै पटक संशोधन गरिएको बताउनुभयो । उहाँले सुशासन, सेवाप्रवाहसहित सरकारको अनुभूति दिने गरी काम गर्न अहिलेको कार्यशैली र कामको गति बढाउनै पर्नेमा जोड दिनुभयो ।
विकास र समृद्धिको लय समात्न सरकारले अध्यादेश ल्याएको तर्क गर्दै उहाँले भन्नुभयो, “सबैतिर अस्तव्यस्त, अर्थतन्त्र लथालिङ्ग, जनतामा चरम निराशा रहेकाले त्यसलाई चिर्न अध्यादेश ल्याइएको हा । सरकारलाई सदनप्रति पूर्ण विश्वास छ । अहिलेको सरकारसँग करिब दुई तिहाइ छ । सदनबाट भाग्नुपर्ने कुनै कारण छैन ।”
बहुदलीय व्यवस्थामा दल मुख्य विषय भएकाले एमालेलाई आगामी निर्वाचनमा एकल बहुमत प्राप्त हुने गरी लाग्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री पौडेलले सातबुँदे सहमतिको जगमा बनेको सरकार साझा नीति तथा कार्यक्रम हुँदै राजनीतिक संयन्त्रमार्फत चुस्त रूपमा चलिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अराजकता र बेथिति दाबी भएका बेला लोकतान्त्रिक शक्तिको सहकार्य जरुरी हुनेमा जोड दिनुभयो । एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका अधिकारीले एमाले नेता तथा कार्यकर्तालाई पार्टीको मूल सिद्धान्तबमोजिम परिचालित हुन आग्रह गर्नुभयो ।