• ९ माघ २०८१, बुधबार

म्याग्दीका शतप्रतिशत घरधुरीमा उज्यालो

blog

सोलार जडान गरिएको घर ।

म्याग्दी समाचारदाता

म्याग्दी, माघ ९ गते । गण्डकी प्रदेश सरकारले लिएको उज्यालो गण्डकी प्रदेश अभियान अन्तर्गत हिमाली जिल्ला म्याग्दीका शतप्रतिशत घरमा उज्यालो पुगेको छ । गण्डकी प्रदेश सरकारले सुरु गरेको उक्त अभियान अन्तर्गत उज्यालो नपुगेका घर पहिचान गरी सोलार बत्ती जडान गरेसँगै म्याग्दीका सबै घरधुरी विद्युतीय उज्यालोमा जोडिएका हुन् ।

खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाका अनुसार केन्द्रीय प्रसारण लाइन, माइक्रो हाइड्रो वा सोलार बत्तीसमेत नपुगेका घर पहिचान गरी त्यस्ता घरमा सोलार जडान भएसँगै म्याग्दी जिल्लाका सबै घरधुरीमा विद्युतीय उज्यालो पुगेको हो । म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जामा स्थानीयस्तरमै उत्पादित विद्युत् छ भने अन्य कतिपय स्थानमा सोलार तथा स्थानीयले माइक्रो हाइड्रोको विद्युत् जडान गरेका छन् । 

उज्यालोको पहुँचबाट बाहिर रहेका घरधुरीको चार वर्षअगाडि  पहिचान गरी त्यस्ता घरमा सोलार जडान गरिएको थियो । हाल आएर त्यस बखत जोडिएको सोलारको अवस्था पहिचान गरी बिग्रेको भए मर्मत तथा आवश्यक भएकालाई ब्याट्री तथा अन्य मर्मतसमेत गरिएको ओझाले बताउनुभयो । 

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले अहिले केन्द्रीय प्रसारण लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जाका माध्यमको उज्यालो नपुगेको भए त्यसलाई पुर्‍याउने प्रयासका लागि पुनः तथ्याङ्क सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय तथा स्थानीय निकायलाई पनि तथ्याङ्क मागिएकाले सबै तथ्य आएपछि आवश्यक प्रक्रिया पूरा गरेर घोषणाको काम हुन्छ ।” 

गण्डकी प्रदेशका कतिपय क्षेत्रमा संरचना बग्नेसम्मका समस्या भएकाले त्यो अवस्थामा पुनर्निर्माण गरेर विद्युतीकरणका लागि प्रयास भएको उहाँको भनाइ छ । पहिरोले क्षति पुगेको बागलुङको बडीगाडमा विद्युतीकरण तथा विद्युत् नपुगेका तनहुँको देवघाट तथा नवलपुरलगायतका क्षेत्रमा पनि केही स्थान विद्युतीकरणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/७८ तिर धवलागिरि गाउँपालिका–४ र ६ मा १२० घरधुरी उज्यालोको पहुँचबाहिर भएको तथ्याङ्कबमोजिम सोलार जडान गरिएको थियो । गण्डकी प्रदेश सरकारको ७५ प्रतिशत वा १३ हजार रुपियाँ नबढ्ने गरी र उपभोक्ताको २५ प्रतिशत गरी सोलार जडान भएको हो । उक्त समयमा १७ हजार २७७ रुपियाँमध्ये १३ हजार प्रदेश सरकारले र चार हजार २७७ उपभोक्ताको लगानीमा १२० घरमा सोलार जडान भएको थियो । विद्युत्का लागि केन्द्रीय प्रसारण लाइन, लघुजलविद्युत् वा सोलार बत्तीमध्ये कुनै पनि सेवा नभएका घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने र उपभोक्ताले २५ प्रतिशत खर्च गर्नुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार ८३० घरधुरी छन् । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन म्याग्दीका २३ हजार विद्युत्का ग्राहक छन् ।