• ९ माघ २०८१, बुधबार

सप्तरीका १८ पालिकामा हुलाक कार्यालय स्थापना

blog

सप्तरीको राजविराज-७ स्थित जिल्ला हुलाक कार्यालय । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, माघ ८ गते । सरकारको ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत सप्तरी जिल्लाको पालिकाहरूमा हुलाक कार्यालय स्थापना भएको छ । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा पालिका छन् । 

जिल्ला हुलाक कार्यालय सप्तरीका कार्यालय प्रमुख पुरुषोतमकुमार साहले सप्तरी जिल्लामा १८ वटै पालिकामा हुलाक कार्यालय स्थापना भइसकेको जानकारी दिनुभयो । उहाँले राजविराज नगरपालिकामा जिल्ला हुलाक कार्यालय नै रहेको तथा जिल्लाको अन्य १७ वटै पालिकामा हुलाक कार्यालय स्थापना भएको जानकारी दिनुभयो ।

सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख साहले बताउनुभयो । उहाँले जिल्लाका सबै पालिकामा हुलाक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको बताउनुहुँदै पालिकाहरूको विभिन्न ठाउँमा पठाइने चिठीपत्र अब हुलाकले बोक्ने बताउनुभयो ।

सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा समेत सर्वसुलभ रूपमा हुलाकले योगदान पुर्‍याएको बताउनुहुँदै सूचना प्रविधिको विकाससँगै हुलाक सेवाले पनि आफ्नो कामलाई सोही अनुसार अगाडी बढाएको बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको पहुँच जनतासम्म पुर्‍याउन कार्यालय लागेको बताउनुभयो । कार्यालय प्रमुख साहले पालिकामा हुलाक कार्यालयको स्थापनाले विभिन्न कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरूपमा सञ्चालन भइरहेको बताउनुभयो । 

कार्यालयमा विभिन्न पत्राचार गर्न, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा हुलाकबाट सहजता आउने बताउनुहुँदै उहाँले सरकारको निर्णय कार्यान्वयन भइरहेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । हुलाक कार्यालयले अहिले लोककल्याणकारी प्राप्त गरेका पत्रपत्रिकाहरूको भुक्तानीसहित आन्तरिक तथा वैदेशिक पुलिन्दा, बचत बैंक, धनादेश, बिमा, आन्तरिक–वैदेशिक द्रुत डाँक, अनलाइन पोस्ट, मनी ट्रान्सफर, डाँक टिकटलगायत सेवाहरू दिँदै आएको छ ।