काठमाडौं, माघ ८ गते । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले नै दिएको अधिकारलाई कार्यान्वयन गर्न पहल गर्ने बताउनु भएको छ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीसहितको टोली सभापति देउवासँग गरेको भेटमा सभापति देउवाले सो भनाइ राख्नु भएको हो ।
देउवा निवास बूढानीलकण्ठमा मङ्गलबार भएको भेटमा अध्यक्ष डा.केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गर्नुभयो ।
संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरू थप निराश भएको अध्यक्ष डा केसीले बताउनुभयो ।
अध्यक्ष केसीको भनाइ सुनेपछि सभापति देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी गैरआवासीय नेपाली सङ्घले दिएको छ ।
भेटमा सभापति देउवाले भन्नुभयो, ‘‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भए पनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।ʼ’ भेटवार्तामा सङ्घका महिला उपाध्यक्ष रोजिना प्रधान राईसमेत उपस्थित हुनुहुन्थ्यो ।