गुणबहादुर रोका
सुलीकोट, माघ ८ गते । गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधि हात पारेको हो ।
त्यसैगरी, प्रतियोगितामा ६ स्वर्ण ६ रजत र ८ कास्य गरी कुल २० पदकसहित पालुङटार नगरपालिका दोस्रो बनेको छ भने पाँच स्वर्ण, चार रजत र तीन कास्य गरी कुल १२ पदकसहित भीमसेन थापा गाउँपालिका तेस्रो बनेको छ ।
प्रतियोगितमा गोरखा नगरपालिकाले दुई स्वर्ण, दुई रजत, दुई कास्य, शहिद लखन गाउँपालिकाले तीन कास्य र गण्डकी गाउँपालिकाले चार स्वर्ण, एक रजत र चार कास्य पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी, बारपाक सुलीकोट गाउँपालिकाले तीन स्वर्ण, चार रजत र तीन कास्य, अजिरकोट गाउँपालिकाले तीन स्वर्ण, तीन रजत र चार कास्य, चुमनुब्री गाउँपालिकाले दुई कास्य, धार्चे गाउँपालिकाले एक रजत र आरुघाट गाउँपालिकाले एक कास्य पदक प्राप्त जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।
सिरानचोक गाउँपालिकाले तीन पटकसम्म राष्ट्रपति रनिङशिल्डको उपाधि विजेता बनेसँगै शील्ड पनि आफ्नो बनाइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा ११ वटै स्थानीय तहहरुले भलिबल, कबडी, एथेलेक्टिस र मार्सलआर्टस विधामा प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको भनाइ छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनमा आइतबारबाट पालुङटारस्थित भवानी मावि माझटार खेलकुद मैदानम प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगितामा विजेताहरुले ट्रफी, पदक र प्रमाणपत्र मङ्गलबार एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले वितरण गर्नुभएको थियो ।