छविलाल पाण्डे
बुटवल, माघ ७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सडक आश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिने बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको सोमबार एक समारोहका बिच उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले उक्त कुरा बताउनुभएको हो ।
सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण अभियानअन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि यसै वर्ष बनाउँछौं ।’’
आगामी वर्षको बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उहाँको भनाइ छ ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपियाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ । प्रदेश र स्थानीय सरकारको एक करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट सङ्कलन गरिएको जनाइएको छ ।
भवनको पूर्ण निर्माणका लागि थप दुई करोड बजेट आवश्यक पर्ने भएकाले आश्रमले आजदेखि मणिग्राममा महायज्ञ समेत आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिकालगायत स्थानीय तहका प्रमुख, उप्रमुख, उद्योगी, व्यवसायी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।