• ७ माघ २०८१, सोमबार

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा

एक सय वर्षमाथिका ४७ जना ज्येष्ठ नागरिक

blog

ज्येष्ठ नागरिक । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं, माघ ७ गते । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घरोगका औषधीसम्बन्धी लगत सङ्कलन गरिरहेको छ । उहाँहरुलाई औषधीको उपलब्धता सरल, सहज र पहुँच योग्य बनाउने उद्देश्यसहित पुस २२ गतेदेखि परिपत्र गरेर लगत सङ्कलन गरिरहेको हो । विवरण प्राप्त भएपछि उहाँहरुको स्वास्थ्य प्रवर्द्धनका थप कार्यक्रम तर्जुमा गर्न सहज हुनेछ, विभागका प्रमुख दिपक केसीले कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।

विभागले महानगरपालिकाकै पञ्जिकरण शाखाबाट २०८१ साउन १ गतेसम्म अद्यावधिक गरेका ७० वर्ष उमेर पूरा भएका २३ हजार ७७० जना ज्येष्ठ नागरिकको विवरण प्राप्त गरेको छ । मेडिकल अधिकृत डा. दिवस न्यौपानेका अनुसार हरेक ज्येष्ठ नागरिकको मोबाइलमा सन्देश पठाएर सहयोगीमार्फत गुगल फर्ममा विवरण मागिएको छ । अहिलेसम्म एक हजार ४९६ जनाको विवरण प्राप्त भइसकेको छ । उहाँहरुमध्ये धेरैले मधुमेह र उच्च रक्तचापको औषधी सेवन गरिरहनुभएको छ । 

 काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा हुनुहुन्छ र महानगरपालिकाभित्रै बसोबास गरिरहनुभएको छ भने ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको विवरण परिवारका सदस्य वा सहयोगी कसैले पनि लिङ्क क्लिक गरेर भर्न सक्नुहुनेछ । यस्तै आफू बसोबास गरिरहेको नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर पनि विवरण टिपाउन सकिनेछ ।

अहिले विभागलाई प्राप्त भएको विवरणमा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सङ्ख्या ३७ हजार ६५४ जना छ । ७० वर्ष उमेर पूरा भएकाको सङ्ख्या २३ हजार ७७० जना छ । धेरै उमेर हुनेमा ११० वर्ष उमेरको व्यक्ति हुनुहुन्छ । एक सय वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकको सङ्ख्या ४७ जना छ ।

९० वर्षदेखि ९९ वर्षसम्मका ८६४ जना, ८० वर्षदेखि ८९ वर्षसम्मका पाँच हजार ४८३ जना र ७० वर्षदेखि ७९ वर्षसम्मका १७ हजार ३७४ जना ज्येष्ठ नागरिक हुनुहुन्छ ।