• ६ माघ २०८१, आइतबार

मासिँदै रैथाने मास

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ ६ गते । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२, भीमटारलाई केही वर्षअघिसम्म दलहन बाली मास उत्पादनको उर्वरभूमि मानिन्थ्यो । अहिले भीमटारमा रैथानेबालीका रूपमा चिनिएको मास उत्पादन लोप हुने अवस्थामा पुगेको छ । भीमटारका माझी, दनुवारलगायतका समुदायको मुख्य आम्दानीको स्रोत मास खेती थियो तर पछिल्लो समय मास उत्पादनमा ह्रास आउन थालेपछि किसान अति चिन्तित छन् । किसानले मास खेती गरिरहेका छन् तर मास उत्पादनमा अति ह्रास भएपछि उनीहरू मर्कामा परेको किसान सुकुमाया माझीले सुनाउनुभयो ।

पहिले सुकुमायाले खेतीबारीमा १० मुरी मास वार्षिक रूपमा भित्र्याउनु हुन्थ्यो तर दुई वर्षयता वार्षिक एक मुरी पनि मास भित्र्याउन कठिन भएको उहाँको भनाइ छ । स्थानीय ठुलीकान्छी दनुवार पनि मास उत्पादनमा हुन छाडेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

पहिले तीन चार रोपनी जग्गामा रोपेको मास छ/सात मुरी भित्र्याउन सकेका किसानले अहिले मुस्किलले एक मुरी पनि भित्र्याउन नसकेपछि वैकल्पिक खेती गर्नुपर्ने अवस्था आएको बताउँछन् ।

मास खेती गरेर माझी, दनुवार समुदायका मानिसहरू घरखर्च चलाउँथे । मास खेती उत्पादनमा अति ह्रास आउन थालेपछि खेती नै छाड्ने अवस्था आएको किसान भीम दनुवार बताउनुहुन्छ । मास खेतीबाट जीवन गुजारा चलाउँदै आउनुभएका भीमटारका तीन दर्जनभन्दा बढी किसान अब के खेती गरेर खाने भन्ने चिन्तामा छन् ।

भीमटारलगायतका स्थानमा मास र अन्य खेतीमा ह्रास आउनुमा जलवायु परिवर्तनको असर भएको जानकारहरूको भनाइ छ । जलवायु परिवर्तनकै कारण माटोमा उर्वरशक्तिमा ह्रास, रासायनिक मलको बढ्दो प्रयोग, पुरानो बिउलगायतका समस्याले मासलगायतका रैथाने खेतीपातीमा ह्रास आउन थालेको बताइन्छ । कृषिमा आधुनिकीकरणलगायत कृषि, पशुपालनमा स्थानीय सरकारले प्राथमिकता दिँदै आए पनि रैथाने खेतीपातीमा हुँदै आएको समस्या समाधानमा लागेको देखिँदैन । 

जिल्लाकै उर्वरभूमि भीमटारमा खेतीपाती हुन छाडेपछि पनि उक्त पालिकाले कुनै ठोस कार्यक्रम ल्याएर कृषि र किसानका पक्षमा काम गर्न नसकेको ठुलीकान्छी दनुवारले बताउनुभयो ।