• ९ वैशाख २०८२, मङ्गलबार

‘कानुनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’

blog

काठमाडौं, माघ ५ गते । तोकिएका शर्तको पालना गर्दै कानुनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई रहेको सरोकारवाला निकायहरुले बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आहारपुरक सौन्दर्यवर्द्धन संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।उनीहरुले कानुनभित्र रहेर गरिएका व्यापार व्यवसायमा अवरोध गर्ने अधिकार कसैको नरहेको जिकिर गरे ।

कार्यक्रममा बोल्नुहुँदै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले व्यवसायीहरुले व्यवसायिक सुरक्षा र चुनौतिका विषयहरु के छन् भन्ने सन्दर्भमा छलफल चलाउन जरुरी रहेको बताउनुभयो । छलफलले व्यवसाय गर्दाखेरिका चुनौति, व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु स्पष्ट हुने जानकारी दिनुभयो ।

‘‘व्यवसायिक सुरक्षा र चुनौतिका विषयहरु के छन् भन्ने सन्दर्भमा यहाँहरुले एउटा राम्रो किसिमको छलफल चलाउनुस् । त्यसले पनि फाइदा नै गर्दछ । हामीले व्यवसाय गर्दाखेरिका चुनौतिहरु केके छन् ? व्यवसायिक सुरक्षासँग जोडिने विषयवस्तुहरु के छन् ? कसरी अघि बढ्दा अझ राम्रो हुन्छ भन्नेबारेमा छलफल गर्नुस् ।,’’ उहाँले भन्नुभयो, ‘‘कानुनी परिधिभित्र रहेर र तोकिएका शर्तको पालना गर्नेगरी व्यापार व्यवसाय गर्न पाउनेछ । त्यसमा कसैले पनि अवरोध गर्न हुँदैन । कहीँ कतै भइरेको छ भन्ने गुनासो छ । त्यो गुनासो पनि आगामी दिनमा सरोकारवाला निकायहरुसँग बसेर छलफल गरेर समाधान गर्न सकिन्छ ।’’

यसैगरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले नेपालमा कतैपनि दर्ता नभइ र गुणस्तरको बारेमा कहीँ पनि परीक्षण नगरी बिक्री वितरण गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्ने बताउनुभयो । उहाँले विभागले उनीहरुको सामान जफत गर्नेदेखि जरिबाना तिराउनेसम्मको निर्णय लिनसक्ने जानकारी दिनुभयो । विधिवत ढङ्गले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचेको खण्डमा पनि कारबाही, जफत वा कुनै प्रकारका दण्ड जरिबाना गर्न नसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘कहीँ पनि नेपालमा दर्ता नभइकन, गुणस्तरको बारेमा कहीँ पनि खोजि नै नगरीकन जति पनि वस्तुहरु नेपालमा विक्री वितरण भइरहेका छन्, ति वस्तुहरुको हकमा हामी एकदमै कडा ढङ्गले अगाडि बढ्छौँ । त्यसलाई जफत, जरिबाना गर्नेसम्मको कानुनी कारबाहीमा अगाडि जान्छौँ । तपाईंले विधिवत ढङ्गले दर्ता गरेर नेपालमा दर्ता भएको वस्तु बेचिरहनुभएको छ भने वाणिज्य विभागले कारबाही गर्ने, जफत गर्ने वा कुनै प्रकारको दण्ड जरिबाना गर्दैनौँ ।’’

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु रहेको बताउनुभयो । उहाँले खाद्य वस्तुमा कुनैपनि प्रकारको सम्झौता नगरिने बताउनुभयो ।

उहाँले स्वास्थ्यमाथिको खेलवाड गर्ने अधिकार कसैलाई पनि नरहेको धारणा व्यक्त गर्नुभयो । कुनैपनि वस्तु उत्पादन गरिसकेपछि कानुनी संरचनासँगै भौतिक संरचना र प्रविधिको प्रयोग अनिवार्य रहेकाले सरकारले सोहीअनुसार काम गरिरहेको बताउनुभयो ।

‘‘मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने वस्तु भनेको खाद्य वस्तु हो । त्यसैले कुनैपनि हालतमा यसको गुणस्तरमा हामीले सम्झौता गर्न हुँदैन । स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । राज्यले तीन वटा पिल्लरलाई यस सम्बन्धित रहेर फोकस गरेको छ ।,’’ विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले भन्नुभयो, ‘‘कानुनी संरचना, जस्तोसुकै व्यवसाय भएपनि कानुनमा रहेर काम गर्नुपर्ने हुन्छ । भौतिक संरचनाका कुराहरु छन् । कुनैपनि वस्तु उत्पादन गरिसकेपछि कानुनी संरचनासँगै भौतिक संरचना पनि हुनुपर्छ । प्रविधिका कुराहरु पनि छन् । सरकारले यि तीन वटै कुरामा हेरिरहेको छ ।’’

त्यस्तै, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारी निकायहरुले व्यवसाय दर्ता र अनुगमनलाई सहज बनाइदिनुपर्ने बताउनुभयो । व्यवसायीहरुले पनि पारदर्शी हिसावले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारी निकायले दर्ता र अनुगमनलाई स्विफ्ट बनाइदिने, फास्ट बनाइदिने र आँखाले देखिने मात्रै पारदर्शी हिसावले काम गरिदिने हो भने धेरै सस्तो त्यहीँबाट हुन्छ । औषधीको हकमा मात्रै होइन, खाद्य, तेल, निर्माण सामग्री सबैमा हो ।’’ उहाँले गलत ढङ्गले नाफा कमाउन खोज्नेहरुलाई भने कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।