गुणबहादुर रोका
सुलीकोट, माघ ५ गते । गोरखा हुँदै चीन जोड्ने सडक अन्तर्गत बेनीघाट – आरुघाट – लार्के सडक खण्ड कालोपत्रेका लागि ६० करोड बजेट स्रोत सुनिस्चित भएको छ । आर्खेतदेखि हाबाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्रोत सहमति दिएको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएपछि अबको केही दिनमा ठेक्का निकाल्ने काम अघि बढाएर वैशाखसम्म सम्झौता हुने उहाँले बताउनुभयो । उक्त सडक खण्डको लागि यो वर्ष नेपाल सरकारले जम्मा ७ करोड बजेट विनियोजन भएकोमा चुमनुब्री गाउँपालिका अध्यक्ष र जिल्लाको जनप्रतिनिधि कम बजेट विनियोजन गरेको भन्दै बजेट थप गरिदिन भन्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए ।
भर्खरै मात्र अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न ६० करोड बजेट स्रोत सुनिश्चित गरेको हो । स्रोत सुनिश्चित भयसँगै यो वर्ष आर्खेतदेखि हाबाडाँडासम्मको सडक कालोपत्रे हुने भएको छ । बेनीघाटदेखि लार्केसम्मको कुल १ सय ५४ किलोमिटरमध्ये ९७ किलोमिटर सडक खण्डमा चारपाङ्ग्रे गाडी गुड्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
अहिले उक्त सडक खण्डलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । पाङसिङभीर, न्याक फेदी, रुबीनाला र पेबाभीरमा ब्लाष्टिङको काम भइरहेको छ ।
गोरखादेखि चीन जोड्ने सडकले सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत् र पर्यटन धार्मिक स्थलको विकासको लागि महत्त्वपूर्ण योगदान पुग्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ ।