चित्र मिजार
सिन्धुपाल्चोक, माघ ५ गते । त्रिपुरासुन्दरी गाउँपालिका–२ चोकटीका २१ जना महिलाले अम्रिसोको कुचो बनाएर बिक्री गरी जीवन धानिरहेका छन् । २०७९ सालबाट अम्रिसोको कुचो र निगालोबाट थुन्से बनाई बिक्री गरेर उनीहरूले मनग्गे आम्दानी लिँदै आएका छन् ।
फरेष्ट एक्सन नेपालले कुचो र थुन्से निर्माणको तालिम दिएपछि पारिवारिक निजी वन सङ्घको वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत महिलाहरूले सामूहिक फर्मबाट कुचो, थुन्से निर्माण गरी बिक्री गर्दै आइरहेका छन् । ‘पहिलो आफूले प्रयोग गर्ने कुचो बजारबाट किनेर ल्याइन्थ्यो तर अहिले आफैंले कुचो निर्माण गरी बेच्दै आएको छौं’–स्थानीय शारदा सापकोटाले बताउनुभयो । उनीहरूले निर्माण गरेको कुचो र थुन्सेकाे राजधानीमा ठुलो माग छ । माग अनुसार महिलाहरूले कुचो र थुन्से बनाएर राजधानी र अन्यत्रका बजार पठाउने गर्छन् ।
खेर गएको पाखो बारी र जमिनमा अम्रिसो रोपेर कुचो बनाई बिक्री वितरण गर्दा वार्षिक लाखभन्दा बढी कमाइ हुने गरेको ३० वर्षीया सीता दाहालले बताउनुभएको छ । त्यस्तै धुस्कुनका महिलाहरूले त्रिशूली मोडलको थुन्से बनाएर आम्दानी हात पारिरहेका छन् । खेर गएको जमिनमा निगालो रोपेर थुन्से बुनेर राजधानी र अन्य बजारमा बिक्री गर्दे आइरहेको स्थानीय ४९ वर्षीया जुनीमाया थामीले जानकारी दिनुभयो ।
त्यहाँका महिलाहरूले लप्सीबाट क्याण्डी निर्माण गरेर पनि आम्दानी लिइरहेका छन् । कुचो, थुन्से, क्याण्डी बिक्री गरेर आम्दानी भएको रकमले महिलाहरू आत्मनिर्भर हुँदैछन् भने आम्दानीको पैसाबाट घरपरिवार, औषधीउचार, छोराछोरीलाई शिक्षामा खर्च गर्दे बचत पनि गरिरहेका छन् । महिलाहरूले उक्त काम गर्न थालेपछि आत्मनिर्भर त भएकै छन् । त्यससाथै घरायसी खर्चका लागि श्रीमानको भर पर्नुपर्ने अवस्थाबाट छुटकारा पाएका छन् ।