८१ सालको भाइटीकालगत्तै अन्नपूर्ण बेस क्याम्प (एबिसी) यात्रामा निस्किने तयारी थियो । सरकारी सेवा क्रममा भेटिएका र कलेजका साथीहरू जोडजाड गरेर यो यात्रा तयारी गरिएको थियो । तयारी पनि यति उत्साहसाथ गरियो कि, एक हप्ताअघि नै झोला ‘प्याक’ गरिसकेको थिएँ । परिवारसाथ बसेर तिहार मनाइरहँदा मनमा चाहिँ हिमाली क्षेत्रको यात्रा सम्झेर मन फुरुङ्ङ भइरहेको थियो । भाइटीकाको रात निकै उकुसमुकुस बन्यो । निदाउन निकै मुस्किल भयो, ‘कहिले होला बिहान ?’
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकादेखि एबिसी यात्राका तीन जना साथी आउँदै थिए । पोखरा जाने गाडी कतिबेलासम्म पाइएला भनेर बालाजु माछापोखरीमा गएर बुझ्ने जिम्मा मेरै थियो । म बिहानै निस्किँदै गर्दा आमाबुवाको आँखामा एक प्रकारको माया झल्किरहेको थियो । केही छिनको पर्खाइपछि साथीहरू आइपुगे । हामी पोखराको बस चढ्यौँ । तिहारका रहलपहल मिठाई र रोटी खाँदै, रमाइला गफ गर्दै पोखरा पुगेको पत्तो भएन ।
हरिचोकतिर लाग्यौ बिहानै । हरिचोकबाट जिपमा झिनुतिर लाग्दै गर्दा बाटोबाट देखिने माछापुच्छ«ेले काउकुती लगाइरहेको थियो । तीन घण्टामा झिनु पुग्दै गर्दा यात्रामा एक जना थपिए । झिनु गाउँको खानाले फरक स्वाद दिइरहेको थियो । त्यहाँको घिउको स्वाद बयान गरी साध्य छैन । बागलुङबाट यात्रामा सहभागी हुन आएका साथीहरू झिनुमै भेटियो । सरकारी सेवाका क्रममा जोडिएका र कलेजपछि बिछोडिएका साथीहरू जुटेका थियौँ, झिनुमा । त्यसले एकखालको खुसी, यात्राको जिज्ञासा र उत्सुकताले हामी छताछुल्ल भएका थियौँ । अब हाम्रो यात्रामा छ जनाको समूह बन्यो ।
झिनुदेखि नै हाम्रो पैदलयात्रा सुरु भयो । कतिखेर निर्दिष्ट गन्तव्यमा पुगिएला भन्ने हुटहुटी चलिरहेको थियो । केहीबेर हिँडेपछि पुल तरेर उकालो लाग्यौँ । यात्रामा अरू धेरै यात्रु भेटिने क्रम जारी थियो । झिनुदेखि छोम्रोङ जाने बाटो धेरै नै गारो रहेछ । हामीसँगको यात्रामा एक जनाको यो पहिलो पैदलयात्रा थियो । त्यसैले उनी हिँड्न नसक्ने पो हुन् कि भन्ने आशङ्का थियो । बाटोमा कसैले जोक्स सुनाउँथे, कोही गजल गाउँथे, कोही गीत । हँस्यौली र ठट्यौलीमा केहीबेर हिँडेपछि यात्रा कठिन बन्दै गएको थियो । हिँड्ने आदत त्यति नभएकैले होला हिँड्ने जाँगर विस्तारै कमजोर हुँदै गएको थियो । सबैका अनुहार माया लाग्दा देखिन्थे ।
बाटोमा देखिएका गाउँ निकै आकर्षक थिए । गाउँको हरियाली देखेर असम्भव केही छैन है जस्तो लाग्थ्यो । करिब चार घण्टाको कस्टपूर्ण हिँडाइपछि छोम्रोङ पुग्यौँ । छोम्रोङ अझ धेरै रमणीय रहेछ । त्यहाँका घर सबै ढुङ्गाको छानो भएका । गाउँको सौन्दर्य देख्दा लाग्थ्यो, केही दिन यतै बसौँ । हिँड्दाहिँड्दै छ जना साथीहरू कोही अघि कोही पछि भइसकेका रहेछौँ । तीन जना अघि लागेछन् । हामी तीन जना पछि थियौँ । बाटोमा पदयात्राकै लागि आउने जाने यात्रु प्रशस्तै भेटिन्थे । अघि बढेका साथीले फोन गरेर हामीलाई विस्तार हिँड्न हौस्याउँथे । यात्राबाट फर्किनेहरू भन्थे, “सबैभन्दा कठिन उकालो यही हो, अब सजिलो छ बाटो ।”
छोम्रोङ कट्नै लाग्दा पानी पर्ला पर्ला जस्तो मौसम देखियो । यात्राका लागि बर्सादीको तयारी गरिएको भए पनि हिँड्ने बेलामा झोलामा हाल्न बिर्सिएको थिएँ । साथीहरूले पनि बर्सादी ल्याएका रहेनछन् । त्यतै प्लास्टिक किनेर बर्सादीको जोहो गरियो । केही छिनमा अप्पर सिनुवा भन्ने गाउँ पुग्यौँ । यात्राको पहिलो बास त्यतै बस्ने गरी होटेल व्यवस्था गरिएको थियो तर अघि लागेका तीन जना साथी त्यहाँबाट पनि अघि बढिसकेछन् । त्यहाँबाट दुई घण्टा हिँडेपछि पुगिने ब्याम्बो भन्ने ठाउँमा तीन जना साथी पुगिसकेछन् । पूर्वनिर्धारित बासलाई त्यागेर हामी पनि ब्याम्बोतिर अघि बढ्यौँ । रात परिसकेको थियो । हिँडाइको रफ्तार बढाइयो ।
बाटामा कतै कतै भेटिने माने र मन्दिर, हिमाली झरनाले थकाइ बिर्साइरहेको थियो । घुम्ती उकालोमा थकाइ मार्दै तस्बिरमा यात्रालाई सुरक्षित गर्दै अघि बढिरहेका थियौँ । हिमालका चुचुरा नजिकै जस्तो देखिन थाल्यो । जति जति हिँड्दै गयो, साथीबिच कुराकानी पनि त्यति पातलिन थाल्यो । थकाइले हामीलाई गालिसकेको थियो । अब कसरी यात्रा सक्ने भन्ने चिन्ता पो लाग्न थालेको थियो । जिउ, गोडा सबै चिरिप्प दुःखेका थिए । हिमाली क्षेत्रमा थकाइ, मिठो खानाले बस्यो कि निद्रा लाग्ने अवस्था आएको थियो । तातो र स्वादिलो खाना खाएपछि त झन् झुपुक्क निद्रा लाग्ने तर के गर्ने यात्रा त समयमै सक्नुपर्ने थियो । केहीबेर सुस्ताएपछि फेरि सुरु हुन्थ्यो यात्रा । म त लखतरानै भएको थिएँ । साथीहरूले छाडेर अघि लाग्थे । दुई साथी थिए, किशोर र मनिष । उनीहरूले चाहिँ मलाई एक्लै छाडेनन् । थकाइ लागेर म सुस्ताए उनीहरू पनि पर्खिदिन्थे । ‘विस्तारै जाउँला’ भन्दै सान्त्वना दिन्थे । यात्रामा सुस्मिता थिइन्, यो पटकको पैदलयात्रामा उनलाई ‘हिँड है छिटो’ भन्न परेन । हिँड्न सकिन भनेर गनगन गर्ने उनी यो पटक फटाफट हिँडिरहेकी थिइन् ।
यात्राको चौथो दिन बिहान ३ बजे नै ब्युँझियौँ । अरूबेला भए यति चाँडो को उठ्थ्यो र ? अन्नपूर्णलाई नजिकैबाट नियाल्ने भनेपछि हामी सबै जागा भइहाल्यौँ । एबिसी जानका लागि सबै जुरुक्क भएका थियौँ । करिब ४ बजेतिर एबिसीको यात्रा थाल्यौँ । हिँड्दा त अँध्यारै थियो, रिमरिम जस्तो । जति जति माथि गयो त्यति अप्ठेरो हुँदै थियो । उकालो, चिसो र अग्लाइले अँठ्याएको थियो । यात्राका एक जना भाइले भने, “हिँड्न सक्नुभएन दिदी ! हिँड्न नसके भन्नु है, दिदीलाई बोकेरै म माथिसम्म लैजान्छु ।”
हतारो गर्नु पनि केही थिएन । हतारो गरेर पाइला चाँडो चाल्न सकिने अवस्था पनि थिएन । सुस्त सुस्त गतिमै पाइला चाल्दै अघि बढ्यौँ । यात्राका साथीहरू त्यति वरपर भएका पनि थिएनौँ । तथापि त्यो उकालोमा गफगाफ गर्न सकिने परिस्थिति पनि थिएन । खोलाको जँघार तर्दा हात समाएर लहरै तरे जस्तै त्यो उकालो यात्रामा साथीहरू लहरै उक्लिदै थियौँ । करिब दुई घण्टाको निरन्तर हिँडाइपछि ६ बजेतिर हामीले एबिसीको गन्तव्य चुम्यौँ । आहा ! त्यो जितको क्षण, त्यो उपलब्धिको क्षणलाई कसै गरी व्यक्त गर्नै सकिएन । हामी खुसीले यति तरङ्गित थियौँ कि लाग्यो, के स्वर्ण भनेको यही हो ? पूर्वबाट लाली छर्दै रातो सूर्य तलतलबाट उदाउँदै थियो । माथितिर बढ्दै गरेको सूर्यका लाली लप्का अन्नपूर्णसँग स्पर्श गर्दै गर्दा हामी चाहिँ मोहित भएर त्यतै फर्किरहेका थियौँ । हाम्रा जोडी आँखाले देखेको त्यो सुन्दर दृश्य क्यामराले के कैद गर्न सक्थ्यो र ? अहिले पनि आँखामा त्यो दृश्य आहा ! झलझली छ । उषा मङ्गेशकरको उही कालजयी गीतका भाका जस्तै (प्रदीप रिमालको शब्द, जयदेवको सङ्गीत)–
झलझली आँखामा
झलझली आँखामा
कस्तो बस्यो मायाप्रीति
सक्दिन म बिर्सन
तिम्रै हो यो लैजाउ जोवन
अन्नपूर्ण हिमालको त्यो काखमा तीन घण्टा बितेको पत्तै भएन । फोटो, भिडियो खिचेर यात्राको सम्झनालाई भावी दिनमा झलझली बनाउने प्रयत्न गरियो । त्यो हिमाली यात्राको मिठो अनुभव सँगालेर मन नहुँदा नहुँदै पनि फर्किने निधोमा पुग्यौँ । बिहानी यात्रा थालेको ठाउँमा फर्किएर ‘ब्रेकफास्ट’ लिएपछि हामी अघि बढ्यौँ । उकालोभन्दा ओरालो झर्न हामीलाई सहज भइरहेको थियो । गन्तव्यमा पुगेर फर्किएको खुसी पनि छताछुल्ल थियो । त्यसले एउटा ऊर्जा दिइरहेको थियो । बिचमा देउराली दोभान र ब्याम्बो भन्ने गाउँ थियो । हामीलाई त्यो काटेर पनि अप्पर सिनुवा पुग्नु थियो । बिचमा उकालो जाने मनिसहरू बाक्लै थिए ।
उनीहरूलाइ देखेर माया लाग्थ्यो के गरी माथि पुग्लान् ? त्यस्तै ५ बजिसकेको थियो तर हामी ब्याम्बो पनि पुगेका थिएनौँ । रात नजिकिँदै थियो । यस दिन हामी धेरै हिँडेका थियौँ, त्यसैले यात्रा कठिन बन्दै थियो । बल्लतल्ल ब्याम्बो आइपुगे पनि बासका लागि अझ अघि बढ्नु थियो । केही समय आरामपछि हामी अघि हिँड्यौँ । रात झमक्क भइसकेको थियो । जङ्गलको बाटो जाने आँट गरियो । एक किसिमको डर सबैको मनमा नभएको हैन तर नहिँडी सुखै पनि थिएन । रात भएकाले हामी चार जना साथी सँगसँगै हिँडेका थियौँ । जति हिँडे पनि कहिले न आउने अप्पर सिनुवा । जसोतसो जानै पर्ने अप्पर सिनुवा पुग्नै लागेका थियौँ के हिँडेको जस्तो आवाज आयो । सबै जना सतर्क भयौँ । डरले ठाउँ छोडिसकेको थियो । त्यो आवाज हामीभन्दा केही पर गएको अनुभवपछि फटाफट हिँड्यौँ । डरले पाइला छिटोछिटो चाल्दै जसोतसो होटेल पुग्यौँ । होटेलको दिदीलाई यो घटना सुनायौँ । उहाँले जङ्गली जनावरको अड्कल गर्नुभयो । कसैले त्यता तर्साउँछ भनेर पनि भन्नुभयो । पाँचौँ दिनको यात्रा पोखरा झर्ने नै थियो । पाँचौँ दिनको यात्रामा मलाई हिँड्न हौस्याउँदै साथ दिनेमा किशोर थियो, जो मेरो बालापनको साथी भन्दा फरक पर्दैन । हामी पुराना साथीहरूको कुरा गर्दै बाटो काट्ने काम ग¥यौँ । २ बजेतिर झिनु झरेर खाना खाएपछि पोखराका लागि गाडी खोज्न लागियो । तीन/चार घण्टाको पर्खाइपछि जिप चढेर पोखरा लागियो ।
पोखराको बसाइमा विन्ध्यवासिनी, पुम्दीकोट र तालवाराही मन्दिर नजानु पनि यात्रा अपुरै हुन्छ । यात्राको छैटौँ दिन भइसकेको थियो । बिहानी यात्रा तालवाराही, पुम्दीकोट, बिन्ध्यवासिनी पुगेर साँझको गाडीमा काठमाडौँका लागि यात्रा थालियो । एक जना साथीलाई पोखरामै छाडी काठमाडौँ फर्किने त हामी पाँच जना थियौँ । बिहानको ५ बजेतिर काठमाडौँको उही व्यस्त कलङ्कीमा झरेर यात्राका सम्झनालाई झलझली बल्झाउँदै बिदाइका हात हल्लाइयो ।