‘सोचे झैँ जिन्दगी रैन छ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबिच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव व्यक्तिमा अनुभूति हुने मानसिक दबाबको अवस्था हो । शरीरिक र मानसिक रूपमा देखा पर्ने बेचैनी नै तनाव हो । यो वास्तवमा अमूर्त चिज हो । यसलाई देख्न, छुन र अङ्क गणितीय मापदण्डमा मापन गर्न पनि सकिँदैन । यो केवल मानव अन्तरस्मरणमा वा मानसपटलमा महसुस मात्र गर्न सकिन्छ । व्यक्तिमा जब आफूसँग भएको ज्ञान, स्रोत र समयबाट कुनै परिस्थिति समाल्न सम्भव हुँदैन भन्ने अनुभूति हुन्छ तब तनाव सिर्जना हुन्छ । तनाव वातावरणीय परिवर्तनको उपज हो । तनाव एकातिर विकासका लागि आधारशिला हो भने अर्कातर्फ द्वन्द्वको पूर्वसर्त पनि हो । यो मानव प्रजातिको माग र आपूर्ति बिचमा आएको बेमेल हो । नेपाली चलचित्रको पुरानो गीत ‘के सोचे मैले के भयो अहिले ?’ को अवस्थाका कारण तनाव उत्पन्न हुन्छ । तनाव सुरुमा रचनात्मक हुन्छ भने बढी भएमा हानिकारक हुन्छ र विनाशतर्फ अग्रसर गराउँछ र विध्वंसकारी हुन्छ, तसर्थ तनाव व्यवस्थापन जरुरी छ ।
तनावले उत्तेजना, असन्तुष्टि, नैराश्य जस्ता मानसिक परिवर्तन ल्याउँछ भने टाउको दुख्ने, ढाड दुख्ने, अपच, अनिद्रा, क्यान्सर, मधुमेह, रिँगटा लाग्ने, पेटको रोग बढ्ने, रिसाउने, थकान, दुव्र्यसन, आत्महत्या जस्ता शारीरिक परिवर्तन ल्याउँछ । यसले व्यक्तिको उत्पादकत्व, कार्य प्रतिबद्धता र कार्य क्षमतामा ह्रास ल्याउँछ । जब व्यक्तिले तनावसँग जुधेर सफलता हासिल गर्छ तब मात्र उसको तनाव कम हुन्छ । मानिस जन्मजात नै स्वतन्त्रता रुचाउने प्राणी हो । जब मानव स्वतन्त्रतामाथि प्रहार हुन्छ तब तनाव उत्पन्न हुन्छ । व्यक्तिको जीवन सफलता र असफलताको सम्मिश्रण भएकाले असफलता नै तनावको कारण बनेर जान सक्छ । त्यसो त ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर ठुला र अवास्तविक लक्ष्य लिनु, छोटो समयमा जीवनमा क्रान्तिकारी परिवर्तन गर्न खोज्नु, सेवामा प्रवेश गर्नासाथ सहरमा घर गाडीको सपना देख्नु र सरस्वतीलाई भन्दा लक्ष्मीलाई बढी माया गर्ने संस्कार बढ्दै जानु जस्ता विविध कारणले पनि तनाव बढ्दै गएको देखिन्छ । विशेष गरेर तनावग्रस्त व्यक्तिमा धूमपान अधिक गर्ने, लागुऔषध सेवन गर्ने, रक्सी सेवन गर्ने, उत्प्रेरणामा कमी, कार्यसम्पादन स्तरमा ह्रास, बिचैमा जागिर छाड्ने, गुणस्तरमा ह्रास, कम सुत्ने, व्यायाम नगर्ने र खाना राम्ररी नखाने जस्ता असामान्य व्यवहारसमेत देखा पर्छ । तसर्थ तनावले शारीरिक, मानसिक र व्यावहारिक समस्यालाई निम्त्याउने भएकाले यसको निराकरण जरुरी छ ।
आजको आधुनिक वातावरणमा व्यवस्थापन, प्रशासन, औद्योगिक क्षेत्र, शैक्षिक क्षेत्र, चिकित्सा, राजनीति र मनोविज्ञानमा समेत तनावसम्बन्धी कुराले उच्च प्राथमिकता पाएको छ । त्यसै गरी मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहेमा मात्र व्यक्तिले आफूलाई परिवर्तित वातावरण अनुरूप परिवर्तन वा परिमार्जन गर्न सक्छ, भावनात्मक द्वन्द्वबाट विचलित हुँदैन, जीवनको अर्थ बुझी त्यसबमोजिम चल्छ, आफ्नो क्षेत्रमा सामथ्र्यको पूर्ण उपयोग गर्छ, सुमधुर पारस्परिक सम्बन्ध विकास गर्छ, उत्पाकदत्व बढेर जान्छ, सङ्गठनप्रतिको प्रतिबद्धता बढेर जान्छ, कार्य सन्तुष्टि बढ्छ, सङ्गठन छोड्ने दर घट्छ, सङ्गठनमा खेर जाने दर घट्छ, आपसी मनमुटाव घट्छ र समग्रमा सङ्गठनको निर्दिष्ट लक्ष्य प्राप्त गर्दै सङगठनलाई दीर्घकालसम्म टिकाउनका लागि तनावको मात्रालाई निराकरण गर्दै जानु आवश्यक देखिन्छ ।
कुनै कुराको चिन्ता गर्नु स्वाभाविक हो । चिन्तामा डुबिरहनु चाहिँ हानिकारक हुन सक्छ । चिन्ताले चितामा पुर्याउन सक्छ भन्ने कुरा पनि हेक्का हुनु जरुरी हुन्छ । दिनरात तनाव वा चिन्ता लिँदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । साथै डिप्रेसनको समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुन सक्छ । आजभोलि अस्पतालका मानसिक रोग विभागमा डिप्रेसनको सिकार भएका सबै उमेर समूहका मानिस भेटिन्छन् । जब मस्तिष्कले पूरा आराम पाउँदैन तब त्यसमा एक किसिमको तनावले दबाब बनिरहन्छ । यस कारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ । तसर्थ तनावग्रस्त मानिसलाई औषधीभन्दा पनि माया, हेरचार र हौसला आवश्यक हुन्छ । यस कारण तनावको समयमै निराकरण गर्नु जरुरी हुन्छ ।
तनाव सिर्जना व्यक्ति स्वयम्का कारण हुने हुदा यसप्रति व्यक्ति स्वयम् संयमित हुनु जरुरी हुन्छ । तनावको मुख्य व्यक्तिगत कारणमा अनिश्चित भविष्य, नकारात्मक सोचाइ र अनुभूति, पारिवारिक द्वन्द्व, आत्मसंयम नहुनु, अपूर्ण ज्ञान, आर्थिक समस्या, सामाजिक अपहेलना, वास्तविकता स्वीकार नगर्ने प्रवृत्ति, प्रेममा फाटो आउनु, वैवाहिक सम्बन्ध टुट्नु, तुलना गर्ने बानी, जीवनप्रति नकारात्मक सोच, असम्भव लक्ष्य प्राप्तिका लागि होडबाजी, अस्वस्थकर जीवनशैली, पढाइमा असफलता, सफलताको आवश्यकता, व्यक्तिगत रिसइबी र झगडा आदि रहेका छन् । त्यसै गरी तनावका साङ्गठनिक कारण अन्तर्गत कार्य जीवन सन्तुलनमा समस्या, अपर्याप्त तलब र सुविधा, वृत्ति विकास योजनाको अभाव, नातावाद, कृपावाद र चाकडीवाद हाबी, कार्य सम्पादन र सेवा सुविधामा तादम्यता नहुनु, सेवाको अनिश्चितता र असुरक्षा, व्यक्तिगत लक्ष्य र साङ्गठनिक लक्ष्यबिच बेमेल, दण्ड पुरस्कारमा विभेद, व्यक्तिगत लक्ष्य र साङ्गठनिक लक्ष्यबिच बेमेल आदि रहेका छन् ।
तनाव व्यवस्थापनको सर्वोत्तम उपाय तनावको कारण पहिचान गरी त्यसको सही सम्बोधन गर्नु हो । परिवर्तित वातावरण अनुकूल व्यक्तिको व्यवहारमा पनि रूपान्तरण गर्ने र तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक र मानसिक सन्तुलन कायम राख्ने काम नै तनाव व्यवस्थापन हो । व्यवस्थापकीय दृष्टिकोणले हेर्दा निश्चित स्तरको तनावलाई उपयुक्त मानिन्छ । किनकि सामान्य स्तरको तनावले मानिसलाई उत्पे्ररित गर्छ, कार्यसम्पादन बढ्छ र सफलताका ढोका खुलाउँछ । तनाव व्यवस्थापन तनाव ग्रस्त व्यक्ति आफैँले गर्नु पर्छ । तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत वा सामूहिक हुन सक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुन सक्छ ।
निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा, उत्पादकत्व बढाई सफलतातर्फ अग्रसर गराई मानव जीवनलाई सार्थक तुल्याउँछ । त्यसै गरी सीमाभन्दा बढी तनाव भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसन हुँदै आत्महत्या सम्म पुर्याएका उदाहरण प्रशस्त देख्न सकिन्छ । तनावको मुख्य कारण व्यक्ति आफैँ भएकाले समाधानमा पनि आफैँले भूमिका खेल्न सकेमा जीवन शान्तिमय हुने छ । साथै मानिस जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएकाले व्यक्तिले आफूले आफूलाई बुझेर आत्मसंयम, आत्मनियन्त्रण, आत्मअनुशासन, आत्मसम्मान, स्वनिर्देशित, र स्वउत्पे्ररणामा जोड दिनु पर्छ ।
तनाव व्यवस्थापनका व्यक्तिगत प्रयास अन्तर्गत जीवनमा व्यावहारिक लक्ष्य निर्धारण गर्ने, जीवनमा ठुलो सपना नदेख्ने, ज्ञान मार्ग, भक्ति मार्ग र कर्म मार्गमा लाग्ने, असल कर्म गर्ने, जगत् नै भगवान् हुन भगवान् नै जगत् सम्झने, नियति राम्रो राख्ने, निर्दोषपूर्वक जीवनयापन गर्ने, सामूहिक घुलमिल हुने, खराब मानिसको सङ्गत नगर्ने, नैतिकताको पालना गर्ने, योग्य व्यक्तिको सल्लाह लिएर मात्र काम गर्ने, आत्मनियन्त्रण गर्ने, मोह, लोभ र क्रोध त्याग्ने, मानव जीवन अरूका लागि हो भनी सम्झने, नियमित र सन्तुलित आहार र व्यायाम गर्ने, समय व्यवस्थापनमा जोड दिने, सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिने, जीवनलाई सन्तुलित तुल्याउने, यथार्थता र वास्तविकतालाई स्वीकार गर्ने, सकारात्मक सोचको विकास गर्ने, वर्तमानसँग रमाउने बानीको विकास गर्ने, ईश्वरप्रति आस्था राख्ने, अति परिश्रमी वा अति अल्छी नहुने, साधारण जीवन बिताउने, हल्लाको पछाडी नलाग्ने, साहस देखाउने, पर्याप्त मात्रामा ध्यान, योग र प्रणायम गर्ने, सचेत र सतर्क भइरहने, तुलना गर्ने प्रवृत्ति बन्द गर्ने, कर्मशील, सिर्जनशील, श्रमशील, उद्यमशी र उत्पादनशील हुने, नकारात्मक सोचाइ त्याग्ने, बाहिर घाममा निस्कने, विपश्यना ध्यान गर्ने र चित्त एकाग्र गर्ने । त्यसै गरी मनोवैज्ञानिक परामर्श र उपचार गर्ने, प्रियजनसँग समय व्यतीत गर्ने, पर्याप्त मस्त सुत्ने, आफ्नो रुचिको क्षेत्रमा समय दिने, एकान्तमा बस्ने बानी त्याग्ने, धार्मिक र सामाजिक क्रियाकलापमा सहभागी हुने, आफ्नो वचनको परिपालना गर्ने, सुख दुःखमा समान भाव राख्ने, सक्रिय जीवन बिताउने, लक्ष्मीलाई भन्दा सरस्वतीलाई बढी माया गर्ने संस्कारको विकास गने, कामको मात्रा नै कम गर्ने, छिट्टै छलाङ मार्ने सोच नलिने, सकेसम्म गर्न खोजेको काम पहिलो पटक नै गर्ने, नियमित पत्रपत्रिका पढ्ने र टेलिभिजनमा समाचार र फिल्महरू हेर्ने, सकारात्मक सोचका बारेमा लेख्ने, पढ्ने बानी बसाल्ने र शरीर नाशवान् र आत्मअविनाशी सम्झेर कर्तव्य पालना गर्ने ।
तनाव मानव जीवनको अनिवार्य सर्त हो । यो व्यक्तिगत र सामूहिक हुन सक्छ । यसको प्रभाव अल्पकालीन र दीर्घकालीन दुवै हुन सक्छ । निश्चित स्तरसम्मको तनावले व्यक्तिको मनोबल, प्रतिबद्धता, उत्पे्ररणा र उत्पादकत्व बढाई सफलतातर्फ अग्रसर गराई मानव चोलालाई सार्थक तुल्याउँछ । निश्चित सीमाभन्दा तनाव बढी भएमा यसले शारीरिक र मानसिक रूपमा शिथिल मात्र नबनाई डिप्रेसनको सिकार हुँदै आत्महत्यासम्म पुर्याएको उदाहरण प्रशस्त छन् । तनावको मुख्य कारण व्यक्ति आफैँ भएकाले समाधानमा पनि आफैँले भूमिका खेल्न सकेमा जीवन अर्थमय, शान्तिमय र अनुकरणीय हुँदै जानेमा दुई मत नहोला । मानिस स्वभावैले जन्मजात नै स्वतन्त्र प्राणी भएकाले र कसैको हैकमवादमा बस्न नचाहने भएकाले व्यक्तिले आफूलाई बुझेर आत्मसंयम हुने, आत्मनियन्त्रण गर्ने, आत्मसम्मान गर्ने, आत्मअनुशासित हुने, आफूलाई नियमन गर्ने, स्वनिर्देशित हुने र आत्मउत्प्रेरित हुने हो भने धेरै मात्रामा तनाव आफैँ कम हुँदै जाने अपेक्षा राख्न सकिन्छ ।