• ५ माघ २०८१, शनिबार

पौने छब्बिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा २५ अर्ब ७७ करोड रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि पुससम्म ३५४ परियोजनामार्फत २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । गत आवको सो अवधिमा २२ अर्ब ३३ करोड ६५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । गत आवको तुलनामा तीन अर्ब ४३ करोड ९९ लाख रुपियाँ लगानी प्रतिबद्धता बढेको तथ्याङ्कले देखाएको छ । 

 लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना परियोजनामा देखिएको छ ।  समीक्षा अवधिमा दर्ता भएका परियोजनामध्ये ३४५ साना परियोजना, पाँच वटा मझौला र चार वटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।

नेपालमा लगानी गर्ने भनेर लगानीकर्ता पर्यटन र उद्योग क्षेत्रमा आकर्षित देखिन्छन् । सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन र सेवामूलक क्षेत्रमा रहेको छ । छ महिनामा पर्यटनमूलक क्षेत्रमा १६ अर्ब ९६ करोड ६५ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल लगानीको ६६ प्रतिशत हो । यस्तै सेवा क्षेत्रमा पाँच अर्ब १५ करोड बराबरको लगानी प्रतिबद्धता हो । यो कुल लगानीको २० प्रतिशत हो । यस्तै सूचना प्रविधि क्षेत्रमा ७४ करोड, कृषि  क्षेत्रमा ७४ करोड, उत्पादनमूलक क्षेत्रमा २० करोड लगानी प्रतिबद्धता आएको छ । 

यस्तै स्वचालित मार्गबाट दुई अर्ब ३८ करोड १५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । गत वैशाखदेखि स्वचालित मार्गबाट लगानी स्वीकृत गर्ने व्यवस्था कार्यान्वयनमा आएको थियो । सोही अनुसार स्वचालित मार्गबाट लगानीकर्ताले लगानी गर्दै आएका छन् । 

विभागका अनुसार यस अवधिमा स्वचालित मार्गबाट १५४ परियोजना अन्तर्गत दुई अर्ब ३८ करोड १५ लाख १२ हजारको लगानी प्रतिबद्धता आएको छ । स्वचालित मार्गबाट ५० करोडसम्मको लगानी स्वीकृत गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले विदेशी लगानीकर्ताले घरबाटै लगानीको स्वीकृति लिन सकिने सुविधाकै कारण विदेशी लगानीकर्ताले यसमा आकर्षित देखिन्छन् । स्वचालित मार्गबाट लगानी स्वीकृत गर्ने व्यवस्थाले साना लगानी गर्ने लगानीकर्ताले उद्योग दर्ता गराउन विभाग नै धाइरहनुपर्ने झन्झटबाट मुक्त भएको छ । 

यसैबिच पहिलो पाँच महिनामा छ अर्ब तीन करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । गत आवको सो अवधिमा तीन अर्ब ९३ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको तुलनामा चालु आवको छ महिनामा दुई अर्ब ९० करोड रुपियाँ बढी लगानी भित्रिएको हो । छ महिनामा तीन अर्ब ५० करोड रुपियाँ नेपालबाट पुँजीगत ट्रान्सफर भएको छ । गत आवको सो अवधिमा दुई अर्ब ८७ करोड रुपियाँ पुँजीगत ट्रान्सफर भएको थियो ।