विजयकुमार साह
ढल्केबर, माघ ५ गते । धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खेल मैदानमा ११ वर्षीय लक्ष्मीनियाकुमारी दास एकाबिहानै हक्की खेलको अभ्यास गर्न पुग्नुहुन्छ । च्यातिएको जुत्ता, पुरानो ब्याट र सामान्य लुगामा उहाँलाई सधैँजसो बिहान अभ्यास गरिरहेको देख्न सकिन्छ । उनीसँग न खेल्नलाई राम्रो ब्याट छ न त राम्रो जुत्ता । छ त केवल हक्की खेल्ने जोस र राष्ट्रको प्रतिनिधित्व गर्दै देशको शिर उँचो बनाउने धोको ।
नकटाझिजको खेल मैदानमा लक्ष्मीनिया मात्र होइन, यस्तै सोच र सङ्कल्प लिएका थुप्रै किशोरकिशोरी हक्की र क्रिकेटको अभ्यासमा रमाइरहेका भेटिन्छन् ।
कृषिमा आश्रित अनि छोरीचेलीलाई घरगोठमा सीमित गरेको अघिल्लो पुस्ताले शैक्षिक चेतनाका कारण पछिल्लो समय छोरीलाई पनि खेल मैदान उफ्रिन कुद्न हौसला दिएको छ । नकटाझिज महिला खेलाडी उत्पादन गर्ने थलोका रूपमा चिनिन थालेको छ । पहिले घुम्टोभित्र रहने, हाटबजारमा जानसमेत हिच्किचाउने छोरीचेली अहिले उन्मुक्त परिवेशमा खेल्छन् ।
हक्की खेलप्रति स्थानीय महिला खेलाडीको लगाव देखेर नेपाल हक्की सङ्घले २०७९ माघमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता नकटाझिजको खेल मैदानमै आयोजना गरेको थियो । हक्की खेलमा यहाँका महिला खेलाडी जिल्ला, प्रदेश र राष्ट्रिय टोलीबाट समेत खेल्ने गरेका छन् । जिल्ला र प्रदेश टोलीमा अधिकांश नकटाझिजकै महिला हक्की खेलाडीको बाहुल्य रहने गरेको छ । पछिल्लो समय एनपिएल र महिला क्रिकेटमा यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले अन्तर्राष्ट्रिस्तरमा उत्कृष्ट प्रदर्शन गरेपछि उहाँको प्रेरणाले क्रिकेट खेलतर्फ पनि महिला खेलाडी बढेका छन् ।
क्रिकेटतर्फ दैनिक २० जना महिला खेलाडी जनता माध्यमिक विद्यालयको खेल मैदानमा अभ्यास गरिरहेको देखिन्छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा माघ १ देखि सुरु भएको प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका तर्फबाट यहाँका १५ जना महिला खेलाडी टोलीमा परेका छन् । अहिले नकटाझिजमा मात्रै क्रिकेट खेलमा २० को हाराहारीमा महिला खेलाडी सक्रिय रूपले लागेका छन् भने त्यत्तिकै सङ्ख्यामा हक्की खेलमा पनि सक्रिय छन् । एकै ठाउँबाट खेलकुदमा महिला खेलाडी सक्रिय हुनु कुनै सानो उपलब्धि नभएको स्थानीयको भनाइ छ । मधेशमा व्याप्त दाइजो प्रथा र महिलाविरुद्ध हुने हिंसाबिच यहाँका छोरी खेलमा सहभागिता जनाउनु समाजमा सकारात्मक परिवर्तनको प्रतीकका रूपमा लिने गरिएको छ । महिला क्रिकेट खेलाडीलाई राष्ट्रिय महिला क्रिकेट खेलाडी रोजी कडारीले प्रशिक्षण दिँदै आउनुभएको छ । उहाँका अनुसार धेरै खेलाडी खेलमा निखारिँदै गएका छन् । उहाँहरूको खेलमा सुधार हेर्दा धेरै खुसी लागेको छ तर अभ्यासका लागि खेलसामग्रीको अभाव रहेको प्रशिक्षक कडारीको भनाइ छ । उहाँले सामुदायिक विद्यालय र हिमालय युवा क्लबले थोरबहुत खेलसामग्री दिएर सहयोग गर्दै आएको बताउनुभयो ।
हिमालय युवा क्लबका संरक्षक अरुणकुमार महतोले खेल क्षेत्रको उत्थानका लागि क्लबले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । खेलकुदको आयोजना तथा खेलाडीलाई खेलसामग्री प्रदान गरेर खेलाडीलाई प्रोत्साहन गर्दै आएको उहाँले जानकारी दिनुभयो । मिथिला नगरपालिकामा खेलसामग्रीको अभाव, प्रशिक्षकको कमी र खेलकुद प्रतियोगिताको आयोजना नहुनु मुख्य समस्या छ । उपप्रमुख सुनितासिंह बुढाथोकीले महिला खेलाडीका लागि प्रतियोगिता आयोजना गर्ने सोच बनाएको बताउनुहुन्छ ।
स्थानीय युवा दिवेशकुमार महतोका अनुसार मधेशका बालिका खेलकुदमा प्रवेश गर्दै समाजको पुरानो सोचलाई चुनौती दिइरहेका छन् तर खेलाडीको प्रगतिका लागि राज्यको भूमिका अपरिहार्य छ । यहाँका सङ्घर्षशील खेलाडीले प्रमाणित गरिसकेका छन् कि सही समर्थन पाए मधेशले नेपाललाई नयाँ ‘स्टार’ खेलाडी दिन सक्छ ।