गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहित सङ्गठनका पदाधिकारी तथा सदस्यहरु नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालमा समाहित हुनुभएको छ ।
उहाँहरुलाई नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार एमालेमा स्वागत गर्नुभयो ।
नेता माधवकुमार नेपालसहितका नेताहरु एमालेबाट अलग भएर जाँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर समाजवादी प्रेस सङ्गठन जन्मेको थियो । सो सङ्गठनको अध्यक्ष सुवेदी संस्थापक हुनुहुन्छ । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र समाजवादी प्रेस सङ्गठनको अस्तित्व समाप्त भएको भन्दै सो सङ्गठनका पत्रकार चौतारीमा फिर्ता हुनुभएको बताउनुभएको छ ।
सुवेदी विभाजित भएर जानुअघि प्रेस चौतारी नेपालको उपाध्यक्ष हुनुहुन्थ्यो । बागबजारमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष सुवेदीसहित सङ्गठनका उपाध्यक्ष सविन शर्मा, नरेन्द्र साउँद, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, माधव पौडेल, यज्ञराज थापा, शिवलाल सुवेदी, रमेश सुवेदी, लिजा क्षेत्री, प्रदीप पौडेल, एकिन्द्र आचार्य, स्मिता अधिकारी, सुशील भट्टराई, राजेन्द्र पोखरेललगायत प्रेस चौतारीमा फर्कनुभएको छ ।
कार्यक्रममा अध्यक्ष सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप लागेको धारणा राख्नुभयो । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण खानुपरेको उहाँले चर्चा गर्नुभयो ।
‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’ उहाँले भन्नुभयो ।
एकीकृत समाजवादीमा पत्रकार मात्र होइन पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाएको उहाँले बताउनुभयो । नेकपा (एस) मा निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाउनुभयो । अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको सुवेदीले जानकारी गराउनुभयो ।
प्रेस सङ्गठनका ९० प्रतिशत पत्रकार प्रेस चौतारी नेपालको महाधिवेशन अगाडि नै आउने उहाँले जानकारी दिनुभयो । चौतारीले आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा सङ्गठनको महाधिवेशन तय गरिसकेको छ ।
अध्यक्ष सुवेदीले आफू कुनै आश गरेर प्रेस चौतारी नेपालमा नआएको बताउनुभयो । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्नेगरी काम गर्ने सुवेदीले प्रतिबद्धता जनाउनुभयो । सङ्गठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उहाँले स्पष्ट पार्नुभयो । बाहिर रहेका र आज भौतिक रुपले उपस्थित हुन नसकेकाहरुलाई देशव्यापी रुपमा चौतारीमा समाहित गराउने काम भालिदेखि सुरु हुने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीमा समाहित हुनुभएका समाजवादी प्रेस सङ्गठनका सबैलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाइँ, प्रचार विभागका सदस्यहरु उजीर मगर, चेतन अधिकारी, चौतारीका पूर्व वरिष्ठ उपाध्यक्षद्वय दुर्गाप्रसाद शर्मा, माधव नेपाललगायतको सहभागिता थियो ।