• ४ माघ २०८१, शुक्रबार

पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर काम गर्नुपर्छ: शङ्कर पोखरेल

blog

काठमाडौँ, माघ ४ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । 

लुम्बिनीमा आयोजित जनप्रतिनिधि, स्थानीय राजनीतिकर्मी लयागतसँगको छलफलमा बोल्दै पोखरेलले लुम्बिनीको समग्र विकासको पहिलो आधार पर्यटन भएको बताउनुभयो । पर्यटनसँग जोडिएका क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न आवश्यक रहेको उहाँको धारणा छ । ‘पर्यटन नै विकासको मूल आधार हो, पर्यटनसँग जोडिएका उत्पादनशील क्षेत्र हस्तकला, पोसाक तथा खानासँग जोडिएका क्षेत्रलाई अघि बढाउन सकिन्छ’, उहाँले भन्नुभयो । 

लुम्बिनी क्षेत्रको भित्रको मात्रै विकास भएर नहुने बताउँदै उहाँले बाहिरी क्षेत्रको विकासलाई पनि अघि बढाउने गरी विस्तृत गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । ‘समग्र लुम्बिनी क्षेत्रको विकासमा आधारित विस्तृत योजना बनाउन जरुरी छ, त्यो योजनाले लुम्बिनी भित्र र बाहिरको क्षेत्रलाई समेट्न सकोस्’, उहाँले भन्नुभयो ।  

लुम्बिनी प्रदेश स्थापना भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटककालागि पहिला भन्दा अहिले राम्रा पूर्वाधार बनेका उहाँले बताउनुभयो । त्यसैले पर्यटकलाई सहज भएको पोखरेलको भनाइ छ ।