राममणि दाहाल
हेटौँडा, माघ ३ गते। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश र स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रदेश समन्वय परिषद्को दुई दिने बैठक हेटौँडामा सुरुभएको छ।
बिहीबारबाट सुरुभएको बैठकमा प्रदेशभित्र प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारको कार्यान्वयनको अवस्थालगायतका बारेमा छलफल हुनेछ।
पाँचौ समन्वय परिषद् बैठकको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले परिषद्को दुई दिने बैठकमा परिषद्ले विगतमा गरेका निर्णय, कार्यान्वयनको अवस्थाको समीक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल हुने बताउनुभयो। उहाँले कर्मचारी व्यवस्थापन, कर्मचारी पद दर्तालगायतमा देखिएको समस्या समाधानका लागि पहल भईरहेको बताउनुभयो।
परिषद् बैठकमा सहभागीहरुले कर्मचारी व्यवस्थापनका बारेमा छलफल गर्दै प्रदेश तथा स्थानीय तहबिच समन्वय र सहकार्यमा जोड दिएका थिए। बैठकमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव वेदप्रसाद भण्डारीले प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापनका बारेमा बैठकमा कार्यपत्र प्रस्तुत गर्दै निवृतिभरण कोष र कालान्तरमा सिर्जित हुने आर्थिक दायित्वलगायतका विषयमा धारणा राख्नुभएको थियो।
यस्तै बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले विपत् व्यवस्थापन र यसका चुनौतीका बारेमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्दै सहभागीले विपत् व्यवस्थापनका लागि नीतिगत अस्पष्टताको सन्दर्भमा सुधारका लागि सुझावहरु दिएका थिए।
बैठकमा अन्तर सरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडाफाँडको अवस्थाका बारेमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
बैठकको दोस्रो दिन शुक्रबार बागमती प्रदेशको दोस्रो आवधिक योजना र प्रदेश आयोजना बैङ्क सञ्चालन र प्रादेशिक औद्योगिक व्यवसाय ऐन, २०७६ को कार्यान्वयन अवस्थाको बारेमा छलफल गरिनेभएको छ।
बैठकमा प्रदेशका मन्त्री, परिषद्को सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रदेश सरकारका सचिवलगायतका सहभागिता रहेको छ।