• ३ माघ २०८१, बिहिबार

बाँकेमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम

blog

डुडुवाको सीमा नाका खडैंचामा निर्माण गरिएको सार्वजनिक चौतारो। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ ३ गते। बाँकेमा सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमले नेपाल–भारत नाका क्षेत्रमा बसोबास गर्ने जनतासँग प्रहरीको सम्बन्ध सुदृढ हुन थालेको छ। 

सीमावासी अहिले प्रहरीसँग घुलमिल भइरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो। 

उहाँले जिल्लाको दुर्गम मानिने नरैनापुर नाकामा सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध बनाउन विभिन्न कार्यक्रम गरिरहेकोले प्रहरी हाम्रो साथी हो भन्ने भावना जनतामा बढ्दै गएको बताउनुभयो। 

सोही प्रकारले डुडुवा गाउँपालिकाको खडैंचा नाकामा पनि सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि गरिरहेकोले स्थानीयसँग प्रहरीको सम्बन्ध निकै राम्रो भइरहेको डुडुवाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो। 

‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले अहिले जिल्लाका सीमा क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर र छलफल गर्दै आएको छ। सीमा क्षेत्रबाट आवागमन गर्नेकोे सुविधाका लागि शौचालय, खाने पानी र प्रतीक्षालय निर्माण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका प्रमुख प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो । 

नरैनापुर १ सुईया बगौडा नाकामा निर्माण गरिएको शौचालय र खानेपानी ट्यांकी तथा डुडुवा गाउँपालिका १ खडैचा नाकामा निर्माण गरिएको प्रतीक्षालय र खानेपानी ट्यांकी बिहिबारबाट सञ्चालनमा ल्याइएको छ। 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सीमानाको सुरक्षा र अपराधिक गतिविधि रोक्न जनतासँग प्रहरीको सम्बन्ध राम्रो हुनु आवश्यक भएको बताउनुभयो।