• ३ माघ २०८१, बिहिबार

भूकम्प प्रभावितको आवास पुनर्निर्माण अछामबाट प्रारम्भ

blog

सम्झौता पत्रमा हस्ताक्षर आदान प्रदान गर्दै वडा अध्यक्ष झंकरप्रसाद भाट र लाभग्राही । तस्बिरः शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, माघ ३ गते ।
भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणको प्रारम्भ अछाम जिल्लाबाट सुरुवात गरिएको छ । दुई वर्षअघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण गर्ने गरेर मंगलसेन नगरपालिका–५ की खन्टी कामीसँग सम्झौता गरिएको हो । कामीको घर निर्माणका लागि मंगलसेन नगरपालिका–५ को वडा कार्यालयमा वडा अध्यक्ष झंकरप्रसाद भाटसँग बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

भूकम्प पश्चात क्षतिको विस्तृत आँकलनको प्रतिवेदनका आधारमा लाभग्राही छनोट गरेर पुनर्निर्माण र सबलीकरणको काम थालनी गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको समन्वयमा लाभग्राहीहरुसँग सम्झौता गरेर निजी निवास निर्माणको काम अघि बढाइएको बताइएको छ । लाभग्राहीले तीन किस्तामार्फत निर्माण वा मर्मतको रकम पाउने प्राप्त गर्ने छन् । सम्झौता गर्ने क्रममा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी लम्साल, प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, वडा अध्यक्षहरु र लाभगाहीको रहेका थिए ।

२०७९ कात्तिक तेस्रो साता गएको भूकम्पका कारण अछामका दश स्थानीय तहमा पाँच हजार ५४० घरपरिवारको आवास पुनर्निर्माण र सबलीकरण गरिने भएको हो । जस अनुसार मंगलसेन नगरपालिकामा ४५६, कमलबजारमा २८५, पञ्चदेवल विनायक नगरपालिकामा ७५, चौरपाटी गाउँपालिकामा ७६०, ढकारी गाउँपलिकामा ८९ घरपरिवार लाभान्वित हुने भएका छन् । यस्तै, साँफेबगर नगरपालिकामा दुईहजार ४२८, रामारोशन गाउँपालिकामा दुई सय, मेल्लेख गाउँपालिकामा ६०३, तुर्र्माखाँदमा १८ र बान्नीगढी जयगढ गाउँपालिकामा ६२६ निजी आवास पुनर्निर्माण र प्रबलीकरणमा रहेका छन् ।

“भूकम्पपीडितले हामीलाई सताई रहेका थिए, बल्ल सरकारले नै घर बनाइ दिने भएपछि हामीलाई पनि सहज भएको छ ।” मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराको भनाइ छ । छनोट भएका लाभग्राहीलाई वडा तहमै सम्झौता गरेर काम गरिने नगरप्रमुख बोहराको भनाइ छ । 

स्थानीय तहको समन्यमा सम्बन्धित लाभग्राहीसँगको सम्झौता गरेर निजी आवासको पुनर्निर्माण वा मर्मतका काम गरिने प्रजिअ लम्सालको भनाइ छ ।