• ३ माघ २०८१, बिहिबार

महोत्तरीका १३ पालिकामा हुलाक कार्यालय स्थापना

blog

सोनमा गाउँपालिकामा हुलाक कार्यालय स्थापना । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ ३ गते । ‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत महोत्तरी जिल्लाको पालिकाहरुमा पालिका हुलाक कार्यालय स्थापना कार्यान्वयन भइरहेको छ । महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरि १५ वटा पालिका छन् । 

जिल्ला हुलाक कार्यालय महोत्तरीका कार्यालय प्रमुख रामचन्द्र साहले महोत्तरी जिल्लामा १३ वटा पालिकामा हुलाक कार्यालय स्थापना भइसकेको जानकारी दिनुभयो । उहाँले जलेश्वर नगरपालिकामा जिल्ला हुलाक कार्यालय नै रहेको तथा जिल्लाको औरही नगरपालिकामा हुलाक कार्यालय स्थापना हुन बाँकी रहेको जानकारी दिनुहुँदै चाँडै नै त्यहाँ पनि पालिका हुलाक कार्यालय स्थापना गरिने बताउनुभयो ।

सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख साहले बताउनुभयो । उहाँले वुधबार मात्रै महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरि सञ्चालनमा ल्याएको बताउनुहुँदै पालिकाहरुको विभिन्न ठाउँमा पठाइने चिठीपत्र अब हुलाकले बोक्ने विश्वास व्यक्त गर्नुभयो ।

सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा समेत सर्वसुलभ रुपमा हुलाकले योगदान पु¥याएको बताउनुहुँदै सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले पनि आफ्नो कामलाई ढाल्ने गरि गृहकार्य भइरहेको बताउनुभयो ।

सोनमा गाउँपालिकामा हुलाक कार्यालयको बोर्डलाइ अनावरन तथा मैनबती बालेर पालिका हुलाक कार्यालयको उदघाटन गर्नुहुदै उहाँले जनताको पहुँचमा हुलाकलाई पु¥याउन कार्यालय लागेको बताउनुभयो । सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले पालिकामा हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने बताउनुभयो । 

सरकारी सेवा गाउँ गाउँसम्म पु–याउन सरकारले गरिरहेको प्रयासको सराहना गर्नुृहुदै उहाँले पालिकाका जनताहरुको लागि आफुले मालपोत र नापीको सेवा ल्याउने गरी काममा लागेको बताउनुभयो । जिल्ला हुलाक कार्यालय महोत्तरीका नायब सुब्बा सतिश कुमार साहले पालिकामा हुलाक कार्यालयको स्थापनाले विभिन्न कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरुपमा सञ्चालन हुने बताउनुभयो । 

कार्यालयमा विभिन्न पत्राचार गर्न, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा हुलाकबाट सहजता आउने बताउनुहुदै उहाँले सरकारको निर्णय कार्यान्वयन भइरहेमा खुशी व्यक्त गर्नुभयो । हुलाक कार्यालय स्थापना कार्यक्रममा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश प्रसाद साह, हुलाक कार्यालयका कर्मचारीहरु, सोनमा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

हुलाक कार्यालयले अहिले लोककल्याणकारी प्राप्त गरेका पत्रपत्रिकाहरुको भुक्तानीसहित आन्तरिक तथा वैदेशिक पुलिन्दा, बचत बैंक, धनादेश, बीमा, आन्तरिक–वैदेशिक दु्रत डाँक, अनलाइन पोस्ट, मनी ट्रान्सफर, डाँक टिकटलगायत सेवाहरु दिँदै आएको छ ।