भावना जोशी
अत्तरिया, माघ ३ गते । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
धनगढीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले ट्रफी अनावरण गरेको हो । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरण गर्नुभयो ।
मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवा पुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरु लाई हौसला मिल्ने बताउनुभयो ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपियाँसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक लाख रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार रुपियाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिनेछ ।
लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिने गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहिले जानकारी दिनु भयो । प्रतियोगितामा देशभरका आठ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ ।
डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् ।
सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् । सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहनु भएका अर्जुन खड्का सुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय हुनु हुन्थ्यो । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा विताउनुभएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो ।
उहाँले १० बर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराउनु भएकोथियो । पछिल्ला पाँच वर्ष धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक समेत रहनुभएको थियो ।