काठमाडौँ, माघ २ गते । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगितामा बुधबार एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हरायो । यसअघि पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई एक सय ११ रनले हराएको थियो । दोस्रो हार खेपेको गण्डकी आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भएको थियो ।
जितका लागि गण्डकीले दिएको ७१ रनको लक्ष्य पछ्याएको एपिएफले ९.३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६ रन बनाउनुभयो । ममता चौधरीले १८ र रोमा थापाले अविजित १४ रन जोड्नुभयो ।
बलिङमा गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा ७० रन बनाएको थियो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो ।
गण्डकीका लागि कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाउनुभयो । रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाउनुभयो । बलिङमा एपिएफकी बिन्दु बुढाले दुई तथा करुणा भण्डारीले एक विकेट लिनुभयो । दोस्रो जितसँगै एपिएफले चार अङ्क बनाएको छ । दुवै खेलमा पराजित गण्डकीले अङ्कको खाता खोल्न सकेको छैन ।
यसैगरी बुधबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७५ रनले हराएको छ । जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा सबै विकेटको क्षतिमा ५२ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।