• २ माघ २०८१, बुधबार

सौतेनिया पोखरी ओझेलमा

blog

 नागेन्द्रकुमार कर्ण 

महोत्तरी, माघ २ गते । रामगोपालपुर नगरपालिकामा रहेको महोत्तरी जिल्लाको सबभन्दा ठुलो सौतेनिया पोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । वनभोज स्थल, डुङ्गा सयर र घुम्नका लागि उपयुक्त भए पनि यसको उचित प्रचारप्रसार हुन सकेको छैन । 

रामगोपालपुर नगरपालिकाका लक्ष्मी मण्डलले ताल करिब २२ बिघामा फैलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उचित प्रचारप्रसार नहुँदा पोखरीबारे धेरै अनभिज्ञ छन् ।”

पोखरी जलेश्वर–जनकपुर सडकखण्डबाट करिब एक सय मिटर पश्चिममा पर्छ । मण्डलले स्थानीय पालिकाले पनि पोखरी संरक्षण प्रचारप्रसारमा काम गर्न नसकेको बताउनुभयो । मण्डलले भन्नुभयो, “कुनै राजामहाराजाले पोखरी निर्माण गराएको हुन सक्ने आकलन गर्न सकिन्छ । पोखरीवरिपरि माटो खन्दा ठुला ठुला आकारको इँटा फेला पर्ने गरेका छन् ।” 

रामगोपालपुर एफएमका सञ्चालक किशोरकुमार ठाकुरले सौतेनिया पोखरी कुनै राजामहाराजाले निर्माण गराएको हुन सक्ने बताउनुभयो । उहाँले पोखरी ऐतिहासिक रहेको उल्लेख गर्दै पोखरीवरपर विगतमा कुनै गढ वा के थियो त्यो भने अनुसन्धानको विषय हुन सक्ने धारणा राख्नुभयो । पालिकाले उक्त क्षेत्रलाई उत्खनन गराउनुपर्ने उहाँको सुझाव छ । 

पोखरीको बिचमा खेतको आली जस्ता दुई भाग देखिएकाले पोखरीको नाम सौतेनिया रहेको स्थानीय बताउँछन् । पोखरीको डिलमा सौतेनियामाई तथा पूर्वपट्टि शिव नील महादेवको मन्दिर छ । कतिपय स्थानीयले पोखरीभित्र दुई वटा इनार भएकाले सौतेनिया पोखरी भनिँदै आएको बताएका छन् । सूचनाको हकसम्बन्धी राष्ट्रिय महासङ्घ महोत्तरी शाखाका अध्यक्ष बाबुप्रेम यदुवंशीले एकदमै शान्त वातावरण रहेको पोखरीको प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो । उहाँले पोखरील सौन्दर्यीकरण गरेर व्यवस्थित वनभोजस्थल बनाउँदै प्रचारमा ल्याउन सके पालिकाको विकासमा समेत टेवा पुग्ने बताउनुभयो । 

जलेश्वरका युवा जितेन्द्र पासवानले चारैतर्फ रुख अनि बिचमा शान्त र मनोरम देखिने पोखरीको उचित विकास र संरक्षण जरुरी रहेको बताउनुभयो । रामगोपालपुर नगरपालिकाको ११ औँ नगर सभाले सौतेनिया पोखरी र अन्य पोखरीको समेत सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रणनीति अपनाइने उल्लेख गरेबाट पनि पोखरीको ऐतिहासिकता पुष्टि गर्ने नगरप्रमुख रामदुलार साहले बताउनुभयो । 

नगरप्रमुख साहले नगरभित्रका प्राचीन मठमन्दिर, गुठी, ताल, तलैया, पोखरीको स्तरोन्नति र संरक्षणका लागि कामकाज गरिरहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारको समपूरक अनुदानबाट सौतेनिया पोखरीमा गेट, घेरा तथा धर्मशालालगायतका काम भइरहेको जानकारी दिनुभयो । 

पर्यटन विकासमा सौतेनिया पोखरीले समेत टेवा दिने भएकाले स्थानीय पालिका, प्रदेश सरकारले यसलाई चासो दिई उत्खनन  र अनुसन्धान गर्नुपर्ने मण्डलले बताउनुभयो ।