कर्णाली प्रदेश ब्युरो
सुर्खेत, माघ २ गते । सरकारले साबिक कर्णाली अञ्चलका पाँच जिल्लाका बासिन्दाका लागि जन्म र मृत्यु संस्कारमा निःशुल्क रूपमा उपलब्ध गराउने खाद्यान्न गरिब तथा विपन्न परिवारलाई निकै उपयोगी देखिएको छ ।
खाद्यान्न जोहो गर्न कठिन भएका बेला जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्नले सो परिवारको तत्कालको गर्जो टर्ने गरेको छ । साबिक कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्लामा २०७३ सालदेखि जन्म र मृत्यु संस्कारका बेला २० केजी खाद्यान्न निःशुल्क दिइने व्यवस्था सरकारले मिलाएको थियो । चालु आवदेखि भने त्यसमा १० केजी थपेर ३० केजी दिन थालिएको छ ।
ऋण काढ्नुपर्ने बाध्यताको अन्त्य
हुम्ला समाचारदाता राजन रावतका अनुसार जन्म र मृत्यु संस्कारका बेला सरकारले दिने खाद्यान्नले विपन्नलाई ऋण काढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सिमकोट गाउँपालिका–८ का पवन बुढाले गरिब र विपन्नका लागि जन्म र मृत्युका बेला सरकारले उपलब्ध गराउने खाद्यान्न निकै उपयोगी रहेको बताउनुभयो । उहाँले जन्ममा सुत्केरीलाई गाँस र मृत्युमा परिवारका सदस्यलाई मृत्यु संस्कार गर्न सहयोग पुग्ने गरेको भन्दै यस्तो अवस्थामा गरिबलाई ऋण काढ्नुपर्ने समस्या हटेको जनाउनुभयो । जिल्लाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा, डिपो र बिक्री केन्द्रबाट जन्म र मृत्युको समयमा २० केजी खाद्यान्न उपलब्ध गराउने गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ देखि २०८१ सालको पुस तेस्रो हप्तासम्म जन्म र मृत्युका लागि ३५० क्विन्टल खाद्यान्न सहयोग उपलब्ध गराइसकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले यो खाद्यान्न पाउनेमा ६० प्रतिशत जन्मका लागि र ४० प्रतिशत मृत्यु संस्कारका लागि वितरण भएको बताउनुभयो । सो खाद्यान्न लिन आउने परिवारलाई लिमिटेडले ढुवानीका लागि पाँच लाख ९५ हजार रुपियाँ नगदसमेत प्रदान गरेको छ । ढुवानी दर दुरी हेरी पाँच सयदेखि एक हजार रुपियाँसम्म खाद्यान्न पाउने परिवारलाई दिने गरिएको छ । खाद्यान्न लिन जाँदा ज्यालासमेत सरकारले बेहोर्ने गरेको हो ।
जन्ममा सेवा लिने धेरै
डोल्पा समाचारदाता विष्णुप्रसाद देवकोटाका अनुसार डोल्पामा पनि जन्म र मृत्युमा दिने चामल राहत कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले न्यून आयस्तर भएका र अति विपन्न परिवारका सदस्यलाई स्थानीय सरकारको सिफारिसमा निःशुल्क रूपमा चामल उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा २० जनाले मात्र जन्म र मृत्युमा चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका अनुसार चालु आव २०८१/८२ मा जन्ममा सेवा लिनेको सङ्ख्या १८ र मृत्युमा सेवा लिनेको सङ्ख्या दुई जना मात्र रहेको छ ।
कार्यालय प्रमुख विष्णुप्रसाद घिमिरेका अनुसार २०८१ भदौदेखि ३० किलो वितरण गरिँदै आएको छ । यसअघि २० किलो दिने गरिएको थियो । कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “गत भदौबाट १० किलो बढाएर ३० किलो चामल जन्म र मृत्युमा दिइरहेका छौँ । जसमा ५६ हजार चार सय रुपियाँको चामल वितरण गरिएको छ भने १० हजार रुपियाँ ज्याला रकमसमेत दिइएको छ ।”
त्यस्तै कार्यालयका अनुसार आव २०८०/०८१ मा भने ५२ जनाले सेवा लिएका छन् । जन्ममा सेवा लिनेको सङ्ख्या ४५ जना र मृत्युमा सात जनाले सेवा लिएका छन् । उहाँले यस कार्यक्रमले दुर्गमका विपन्न र गरिबलाई निकै सहयोग पुगेको बताउनुभयो ।
कागजात अपूरो हुनेलाई दुःख
मुगु समाचारदाता हरिकृष्ण ऐडीका अनुसार जिल्लाका सबै पालिकामा जन्म र मृत्यु संस्कारमा खाद्यान्न सहयोग लिएका छन् । यहाँका खत्याड गाउँपालिका, सोरु गाउँपालिका, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकामा आठ वर्षदेखि यो सहयोग निरन्तर चलिरहेको छ । ३० किलो चामलका साथै ढुवानी खर्चबापत एक हजार रुपियाँ दिने गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको शाखा कार्यालय मुगुले चालु आवमा जन्मबापत ३१६ जनाले र मृत्यु संस्कारमा ४० जनाले चामल लिएका छन् । शाखा कार्यालय मुगुका प्रबन्धक राजबहादुर राईले सरकारको १०३.५० क्विन्टल स्टिम जिरा मसिनो चामल जन्म र मृत्यु संस्कारका लागि सम्बन्धित व्यक्तिलाई ढुवानी खर्चबापत ३६ हजार रुपियाँ खर्च भएको बताउनुभयो ।
गएको आवमा जन्म र मृत्यु संस्कारबापत २० किलो चामल दिने प्रावधान रहेकोमा चालु आवबाट ३० किलो पाउने कार्यविधिमा उल्लेख रहेको उहाँले जनाउनुभयो । जन्म र मृत्युमा निःशुल्क चामल लिन आउँदा सम्बन्धित वडा कार्यालयबाट कागजात अपूरो गरेर टाढाबाट आउने सेवाग्राहीलाई पुनः कागजात जुटाएर ल्याउँदा दुःख हुने गरेको उहाँले बताउनुभयो । यस कार्यक्रमबाट दिइने चामलले विपन्न परिवारलाई राहत मिलेको छायानाथ रारा नगरपालिका–६ का आइत्या बोहराले बताउनुभयो ।
बाल मृत्युदरमा कमी ल्याउने अपेक्षा
कालीकोट समाचारदाता प्रेमराज सिम्खडाका अनुसार यस कार्यक्रमबाट दिइने चामल पोसिलो भएकाले मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने अपेक्षा गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटका अनुसार कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो पोसिलो चामल दिने गरिएको छ । दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यातायात खर्च धेरै हुने भएकाले सरकारले ढुवानी खर्चसमेत उपलब्ध गराएको हो । कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटका सूचना अधिकारी निर्मल विष्टले जिल्लामा चामल लिन आउनेबाहेक अन्य पालिकाबाट आउने नागरिकलाई समेत फरक फरक भाडासमेत उपलब्ध गराएको बताउनुभयो ।
भाडासमेत दिने गरिएपछि चामल लिन आउनेको सङ्ख्या पनि बढेको छ । आव २०८०/८१ मा कालीकोटबाट जन्म र मृत्युका लागि एक हजार तीन सय जनाले २० किलोका दरले चामल लगेका थिए । त्यस्तै चालु आव २०८१/८२ को पुससम्मको तथ्याङ्कले अनुदानको प्रभावकारितामा निरन्तर वृद्धि भएको देखाइरहेको खाद्य संस्थान कालीकोटका सूचना अधिकारी विष्टको भनाइ छ । यस आवमा जन्मका लागि १९४ क्विन्टल र मृत्युका लागि छ क्विन्टल चामल निःशुल्क वितरण गरिएको छ भने चार लाख ५७ हजार ५०० रुपियाँ यातायात खर्चका रूपमा प्रदान गरिएको कार्यालयले जनाएको छ । सुरुमा यो कार्यक्रमको चर्को विरोध भए पनि चामल र ढुवानी भाडा प्राप्त गर्ने भएपछि पछिल्लो समयमा सर्वस्वीकार्य जस्तै भएको छ ।
सरकार भएको अनुभव
जुम्ला समाचारदाता नेत्र शाहीका अनुसार जुम्लामा चालु आर्थिक वर्षमा १८९ जनाले जन्म र मृत्यु संस्कारमा चामल लिएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले चालु आव २०८१/८२ मा जन्ममा सेवा लिनेको सङ्ख्या १६४ र मृत्युमा सेवा लिने २५ परिवार रहेको जनाएको छ । कार्यालय प्रमुख मनोज जोशीका अनुसार यस वर्ष साउनदेखि ३० किलो वितरण गरिँदै आएको छ । यस अवधिमा दुई लाख ९८ हजार ९५० रुपियाँको चामल वितरण गरिएको छ भने ८५ हजार पाँच सय रुपियाँ भाडा रकमसमेत दिइएको छ ।
गत आव २०८०/८१ मा ७९६ जनाले सेवा लिएका थिए । जसमा जन्ममा ७३३ जना र मृत्यु संस्कारमा ६३ जनाले सेवा लिएका छन् । चामल लिन आउँदा दुरी अनुसार पाँच सय र एक हजार रुपियाँ उपलब्ध गराइने गरिएको छ । सेवाग्राहीले कर्णालीका बासिन्दालाई प्रदान गरेको यो सेवा उल्लेखनीय भएको जनाएका छन् । तातोपानी गाउँपालिका–१ का राजेन्द्र रोकायाले घरमा सन्तानको जन्म हुँदा र मृत्यु संस्कारमा दिइने चामलले स्थानीय सरकार भएको अनुभव हुने गरेको बताउनुभयो ।