बोमलाल गिरी
नवलपुर, माघ २ गते । घाम माथि आइसक्ने बेला भयो । तर बाहिर हेर्दा अझै उज्यालो देखिदैन । हुस्सु यति बाक्लो लागेको छ कि १० मिटर अगाडिको बस्तु देख्न पनि हम्मेहम्मे पर्छ । यसले सबैभन्दा बढी समस्या बिहानको समयमा सवारी साधन चलाउनेहरुलाई परेको छ ।
पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्डमा पातलो गरी सवारी साधन त गुडेका छन्, तर निक्कै शुस्त गतिमा । बाक्लो गरी लागेको हुस्सुले भिजिविलिटी निक्कै कम हुँदा बस चलाउन समस्या भएको बताउनुहुन्छ वीरगञ्जबाट भैहरवा जाँदै गरेको बसका चालक रमेशकुमार पराजुली ।
‘‘गति बढाउने बित्तिकै भिजिविलिटीका कारण दुर्घटना हुने जोखिम उत्तिकै छ, त्यसैले सावधान भएर सुस्त गतिमा सवारी साधान चलाउनु पर्ने बाध्यता छ,’’ पराजुलीले भन्नुभयो ।
राजमार्ग निर्माणकै क्रममा भएको र चालकले पनि सावधानीपूर्वक गाडीहरु चालाएकाले सामान्यबाहेक ठुला दुर्घटना भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जराले बताउनुभयो । पुसदेखि नवलपुरलगायत तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्ने गरेको छ । हुस्सु मात्र होइन शितलहर पनि त्यत्तिकै चलेको छ ।
शितलहरकै कारण बाटो चिप्लो हुँदा नारायणघाट–बुटबल सडकको दाउन्ने खण्डमा एक दिन पूर्ण र दुई दिन आंशिक रुपमा राजमार्ग नै अवरुद्ध भयो । अरु समय यतिबेला चर्को घाम लाग्ने तराईमा अहिले दिउँसोपख मुस्किलले घाम देख्न पाइन्छ ।
बाक्लो हुस्सु र शितलहतले जाडो बढ्दा यतिबेला तराइका धेरैजसो विद्यालयले जाडो बिदा दिएर विद्यालय बन्द गरेका छन् । जाडो बढेपछि वृद्धवृद्धालाई भने थप समस्या परेको छ । जाडो धपाउन चोक चोकमा आगो बालेर ताप्ने व्यवस्था गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयको पहलमा जिल्लाका २४ सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था गरिएको छ । जिल्लाका ६ स्थानीय तहका २४ सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो । त्यसैगरी स्थानीय क्लवहरुले पनि दाउरा व्यवस्थापन गरी ठाउँ ठाउँमा आगो ताप्ने व्यवस्था गरेका छन् ।
हुस्सु र शितलहरले चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा न्यून आय भएका जिल्ला भरिका झण्डै एक सय परिवारलाई खाद्यन्न तथा न्यायो कपडा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।