• २ माघ २०८१, बुधबार

समृद्धिको सङ्कल्प पूरा हुन्छ : डा. कोइराला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुशासनको माध्यमबाट राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समुन्नत नेपाल बनाउने सङ्कल्प पूरा हुने बताउनुभएको छ । 

बेलायतको संसद् भवन (वेस्ट मिनिस्टर) मा हिजो ‘नेपाल–बेलायत सम्बन्ध र भविष्यका अपेक्षा’ शीर्षकमा मन्तव्य व्यक्त गर्दै डा. कोइरालाले नेपालको संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी र सत्य निरूपण आयोग बनाउनेसम्बन्धी विधेयक पास गरेकाले अब समृद्धिको यात्रा सुरु हुने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “हामी विकासका लागि लोकतन्त्र अपरिहार्य भएको विश्वास गर्दछौँ । यसका लागि हामी जनअपेक्षा पूरा गर्न गाउँ र वडास्तरमा सङ्घीय संरचना अनुरूप लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने प्रयासमा छौँ । यसले सेवालाई गाउँ र वडास्तरसम्मै पुर्‍याउन मद्दत गर्दछ ।”

डा. कोइरालाले जनताले अनुभव गर्ने विकास नभई लोकतन्त्रको समृद्धि नहुने हुँदा नेपाल जस्तो नयाँ लोकतन्त्रका लागि लोकतन्त्र, विकास र सेवा प्रवाह एकअर्काका परिपूरक भएको र त्यसमा आफूहरू लागेको बताउनुभयो । 

उहाँले लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेको बताउनुभयो ।  साथै उहाँले नेपाल र बेलायतबिचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।