• २ माघ २०८१, बुधबार

थारू समुदायमा माघी पर्व धुमधामकासाथ मनाइँदै

blog

माघी मिलन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै थारू समुदायका युवायुवती । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १ गते । बाँकेका हरेक थारू बस्तीमा धुमधामका साथ माघी मनाइँदै छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारूहरु माघी पर्वलाई भव्य रुपमा मनाउने गर्छन् । 

माघ १ गते थारू जातिको स्वतन्त्रताको दिन हो । त्यति मात्र होइन यस दिनला उनीहरुले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । सधैँ खेतीपातीमा व्यस्त रहने हुनाले उनीहरुले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रुपमा पनि लिने गरेका छन् । मिठोमिठो खाएर, मघौटा नाच नाचेर बाँकेका थारूहरुले माघी मनाउँदै छन् । थारु समुदायका महिला, पुरुषहरुले आफ्नै संस्कृति झल्किने भेषभूषामा सजिएर जिल्लाका विभिन्न ठाउमा माघी मनाइरहेको बाँके नौबस्ताका वसन्त थारूले बताउनुभयो । 

कोहलपुर कमैयाबस्तीका राजु थारुले माघ १ गते उज्यालो नहुँदै कसैसँग नबोलेर बालकदेखि वृद्धसम्मका सबै नदी, खोलामा गई नुहाएर माघी सुरु गरिएको बताउनुभयो । उहाँले विभिन्न परिकारमध्ये माघीका दिन अनदीको चामलको जाँड विशेष मानिने बताउनुभयो । 

थारु संस्कार अनुसार, चामलको ढिक्री, घोंगी (शङ्खे किरा), सुँगुरको मासु, अनदीको जाँड र रोटी, तरुल, गन्जी, माछा माघीको दिनमा खाइने महत्वपूर्ण परिकार मानिन्छन् । सबै परिकार मालुको पातको दुना टपरीमा खाइन्छ । किनभने यो थारु जातिको परम्परागत भाँडो हो । माघीका दिन महिलाहरुले कपडाहरुमा संस्कृति झल्काउने गोन्या, चोल्या, लेहंगा, गट्या, अघरना लगाएका हुन्छन् भने गहनाहरुमा चाँदी र प्राचीन मोरु पैसाबाट बनाइएका भिछ्या, पैरी, चुरीया, टरीया, मुन्द्री आदि लगाएका छन् । यसैगरी पुरुषहरु पनि झुल्वा, भेग्वा, धोती आदि लगाएर दुनामा जाँड खाँदै महिला पुरुष आपसमा रमाइलो गरेर नाचिरहेका छन् । 

बाँके टिटिहिरियाका दिनेश थारूका अनुसार, यस दिन सट्टापट्टा विवाह गर्ने चलन छ । आफ्ना छोरी बुहारीको सट्टापट्टा विवाह गराई अनुभवी बटुली सकेका थारु भन्नुहुन्छ – जुन घरमा छोरी दिन्छौं, त्यही घरबाट बुहारी ल्याउँछौं, त्यति मात्र होइन माघीका दिन पेटभित्रको भ्रूणको पनि विवाहको छिनोफानो गर्ने चलन छ । उहाँले थारुहरुले सामाजिक, आर्थिक र पारिवारिक लगायत धेरै किसिमका कामको बाँडफाँट योजना र नीति तय यसैदिन भइरहेको बताउनुभयो ।

घरमुलीको चयन, बसाइसराइँको तय, आर्थिक पारदर्शिता, असमान व्यवहारको मूल्याङ्कन गरी घरमा कसको विवाह गर्ने कसको नगर्ने, छोराछोरीलाई पढाउने नपढाउने, घर छुट्टिने, जग्गा किनबेच गर्ने कि नगर्ने, जमिन्दारको जग्गा लगाउने छोड्ने वर्षभरिको सबै निर्णय गर्ने कार्य यसैदिन हुने गरेको अगुवाहरुको भनाइ छ ।