• १ माघ २०८१, मङ्गलबार

दलित र जनजातिलाई बजेट अपर्याप्त

blog

दलित महिला सङ्घ सुर्खेतद्वारा आयोजित कार्यक्रम । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता 

सुर्खेत, माघ १ गते । वीरेन्द्रनगरका दलित तथा जनजातिका लागि सरकारले छुट्याउने बजेट अपर्याप्त भएको सरोकारवालाले गुनासो गरेका छन् । यी वर्गका लागि पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्ने माग गरेका छन् । 

दलित महिला सङ्घ सुर्खेतले सोमबार सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले दलित, जनजाति, महिला तथा अपाङ्गता भएकाको नाममा बजेट न्यून भएकाले बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका अधिकृत मानबहादुर कार्कीले दलित तथा जनजातिलाई संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । उहाँले दलित, महिला, जनजाति भएका कारणले बजेट छुट्याउनुपर्ने नभई उनीहरूको अधिकारका लागि छुट्याउनुपर्ने सुझाव दिनुभयो । 

वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिका संयोजक टीका घलेले दलित तथा जनजातिका क्षेत्रमा बजेट अपर्याप्त भएको बताउनुभयो । उहाँले दलित, जनजाति महिलाका नाममा थोरै रकम दिने र त्यसबाट झारा टार्ने काम भइरहेको हुँदा चाहे जति काम पनि गर्न नसकिएको स्विकार्नुभयो । पछिल्लो समय नगरपालिका तथा वडाले धेरै बजेट फोहोर व्यवस्थापनलगायत अन्य शीर्षकमा छुट्याएको र दलित तथा जनजाति महिलाका क्षेत्रमा थोरै हुँदा काम पनि फलदायी हुन नसकेको उहाँको भनाइ छ । 

वीरेन्द्रनगर नगरपालिकाका–६ का वडा सदस्य कमला नेपालीले दलितका अधिकारका कुरा संविधानले सुनिश्चित गरे पनि व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । दलित, महिलालगायतले अब सिपमूलक र आयआर्जनमा संलग्न गराउनुपर्ने योजनालाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । गैरसरकारी संस्थाका अध्यक्ष प्रकाश सारूले दलित महिला सङ्घले दलित महिलाका मात्र नभई दलित र जनजातिभित्र अपाङ्गता भएका बालबालिकाका मुद्दालाई पनि समेट्नुपर्ने सुझाव दिनुभयो । दलित र जनजाति महिलामा हुने लैङ्गिक हिंसा कम गर्न पहिला महिलालाई सचेतना जगाउन जरुरी रहेको उहाँको भनाइ छ । 

दलित महिला सङ्घकी मीना विश्वकर्माले सुर्खेतमा कुल जनसङ्ख्यामध्ये २६ प्रतिशत दलितको बसोबास रहेको भन्दै जातीय छुवाछुत, लैङ्गिक हिसा, बालविवाह, घरेलु  हिंसा, बहुविवाह, छाउपडी प्रथा अझै कायम नै रहेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै दलित महिलाले नागरिकता नपाउने समस्या भोगेको बताउनुभयो । 

जिल्लाका ८० जना सहभागीले कानुनी सचेतना शिविरमार्फत बालविवाह, बहुविवाह, घरेलु हिंसा, लागुपदार्थ दुव्र्यसन जस्ता सामाजिक अपराधका बारेमा जानकारी पाई समुदायस्तरमा हानिकारक अभ्यास न्यूनीकरणसमेत गरेको विश्वकर्माले जनाउनुभयो । दलित महिला सङ्घ सुर्खेतका सचिव खगिसरा वलीले संस्थाले नेपालमा दलित महिला र किशोरीको मानव अधिकार प्रवर्धन परियोजनामार्फत वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाका विभिन्न महिला र किशोरीलाई आयमूलक तथा सचेतना शिक्षा दिएर हानिकारक प्रथा न्यूनीकरणमा सघाइरहेको जानकारी दिनुभयो ।