• १ माघ २०८१, मङ्गलबार

पालिकाले अलग्गै गोठ बनाइदिँदै

blog

बारेकोट गाउँपालिका क्षेत्र । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता  

जाजरकोट, माघ १ गते  । बारेकोट गाउँपालिकाले तीन वर्षदेखि अलग्गै गोठ बनाउन थालेको छ । कर्णाली प्रदेश सरकारले यो कार्यक्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा १३४ वटा गोठ बनाउन बजेट व्यवस्था गरेको  हो । 

स्थानीय तह र कर्णाली प्रदेश सरकारको सहयोगमा ९५ वटा गोठ निर्माण गरेको छ । मान्छे र पशु एउटै घरमा बस्दै आएपछि मानव स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँपालिकाले आगामी वर्ष १३४ वटा गोठ निर्माण गर्ने भएको छ । कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको एक करोड रकमले सबै वडामा पशुपालन गरेका सर्वसाधारणका गोठ निर्माण गर्ने भएको छ । मानिस र पशु एउटै घरमा बस्दै आएका अलग अलग बास बनाउन स्थानीय सरकारले ल्याएको अवधारणा प्रभावकारी भएकाले गोठका लागि रकम दिएको छ । 

बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार मानिस र पशु एउटै घरमा बस्दा मानव स्वास्थ्यमा असर पर्ने भएकाले तीन वर्षअघि छुट्टै गोठ निर्माणको अभियान सञ्चालन गरिएको थियो । कृषि र पशुपालन व्यवसायबाट जीविकोपार्जन गरेका सर्वसाधारणको स्वास्थ्यमा असर हुन नदिन पशुपालनलाई व्यवस्थित गरी जनताको आयआर्जनमा सुधार ल्याउन गोठ निर्माण गर्न लागिएको हो । अध्यक्ष गिरीले गाउँबस्तीमा पशुपालन व्यवसायबाट जीविकोपार्जन गरेका करिब एक सयभन्दा बढी पशुपालक किसानको तथ्याङ्क सङ्कलन गरी सोही आधारमा रकम वितरण गरिएको बताउनुभयो । गाउँपालिकाभित्र सबैभन्दा बढी पशु पालेका किसानलाई पहिलो र दोस्रो कम पालेकालाई यस वर्ष दिने व्यवस्था गरिएको छ । 

बारेकोट गाउँपालिका पशुपन्छी शाखा प्रमुख गोविन्दबहादुर सिंहका अनुसार एउटै घरमा भुइँ तलामा पशु र माथिल्लो तलामा मानिसको बसोबास गर्दै आएकाले गोठ बनाउन स्थानीय सरकारको सहयोग पाएपछि धमाधम गोठ बनाउन थालेका छन् । बारेकोट गाउँपालिकाले गोठ निर्माण गर्न थालेपछि किसानले पशुपालन व्यवसाय बढाउँदै गएका छन् । कर्णाली प्रदेश सरकारको एक करोड बजेटले १३४ वटा गोठ निर्माण गरी पशुपालनमा थप सुधार आउने अपेक्षा छ । 

बारेकोट गाउँपालिकाका सबै वडामा गत आवमा ९५ वटा गोठ निर्माण भएका छन् भने चालु आवमा १३४ वटा गरी कुल २२९ वटा गोठ निर्माण गरिने भएको छ । सर्वसाधारणलाई व्यावसायिक बनाउन ग्रामीण बस्तीका जनतामा पशुपालन व्यवसायलाई प्रतिस्पर्धी बनाउन गोठालो भत्ताको समेत व्यवस्था गरिएको छ । जसबाट पशुपालनमा केही सुधार आएको छ ।