• १ माघ २०८१, मङ्गलबार

माघेसङ्क्रान्तिको सामाजिक महत्व

blog

नेपाली समाजमा प्राचीनकालदेखि नै धर्म, संस्कृतिप्रधान भई धर्मकै आधारमा राष्ट्रिय जातीय र स्थानीय चाडपर्व मनाउने प्रचलन रहेको पाइन्छ । हाम्रा चाडपर्व उत्सव र मेलाले नेपाली संस्कृतिसँग घनिष्ठ सम्बन्ध जोडेका छन् । माघेसङ्क्रान्ति पर्व सांस्कृतिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण मानिन्छ । त्यसैले यहाँका विभिन्न क्षेत्रका जनजातिसमेत सबै यस पर्वलाई आआफ्नो ढङ्गले मनाउँछन् । आज माघेसङ्क्रान्ति अर्थात् माघ महिनाको पहिलो दिन हो । माघ मध्यहिउँदको एउटा महत्वपू्र्ण महिना हो । आजको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छन् र आजको दिनलाई माघेसङ्क्रान्ति तिलवासङ्क्रान्ति या माघसङ्क्रान्ति या माघीका रूपमा आआफ्नै विशेषता र संस्कृतिक महत्वका साथै मनाइने गरिन्छ ।

सनातन संस्कृतिमा तिलको विशेष महत्व छ । चाहे होम जप गर्नलाई चरुका रूपमा होस् या पूजा गर्दा होस् या कुनै पितृ कार्यमा तिल अपरिहार्य हुन्छ । तिललाई सखरमा मिलाएर बनाइएका लड्डु आजको विशेष परिकार हो । त्यसै कारणले पनि माघेसङ्क्रान्तिलाई तिलवासङ्क्रान्ति पनि भनिन्छ । माघेसङ्क्रान्ति पर्वलाई स्थानविशेष अनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राह्मण समुदायले बिहानै नुवाइधुवाइ गरी घिउ, मासको दाल र चामल मिलाएर पकाएको खिचडी खाने चलन छ । विशेषतः घिउ, चाकु सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । दिउँसो खाजाका रूपमा सेलरोटी पकाएर खाने पनि चलन छ । माघेसङ्क्रान्तिका दिन नुवाइधुवाइ गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खाएमा शरीर पोसिलो हुनुका साथै रोगव्याध नलाग्ने कुरा पुराण तथा सिन्धुमा उल्लेख गरेको पाइन्छ ।

बहुजाति र समुदायको बाहुल्य रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लामा पनि विशेष हिन्दु धर्मावलम्बीका साथै सबै जातजाति माघेसङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन घिउ, खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । थारू समुदायमा माघेसङ्क्रान्तिका दिन मनाइने माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ । यो पर्व बडो उत्साहका साथ मनाइन्छ । यतिबेला ‘सखियै हो, माघीको पिली गुरी जाँर’ भन्ने गीत प्रायः सबै थारूको मुखमा झुन्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमार भनिन्छ । माघीमा नाचिने विशेष मघौटानाच अघिपछि पनि लोकप्रिय छ । माघेसङ्क्रान्तिका दिन बिहान सबै नजिकैको नदी खोलामा नुहाउने जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठुलालाई ढोग गरी आशीर्वाद लिइन्छ । दोस्रो दिन खिचडी बनाई खाने चलन छ । माघ १ गते थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । माघी पर्वमा पुरानो वर्षको समीक्षा र आगामी वर्षका लागि नयाँ योजना बनाएर काम गरिन्छ । मान्यजनसँग आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिन र सम्बन्ध नवीकरण गर्ने दिनका रूपमा माघीलाई लिइन्छ । थारू समुदायले यस दिन गाउँको मुखिया चुन्ने काम पनि गर्छन् ।

माघेसङ्क्रान्तिका दिन पूर्वका ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, सङ्खुवासभामा बसोबास गर्ने राई, लिम्बू समुदायले धुमधामका साथ किराँत नयाँ वर्ष मनाउँछन् । मगर समुदायले काठमाडौँमा बसोबास गर्दै आएको आफ्नो महान् चाड माघेसङ्क्रान्तिका अवसरमा काठमाडौँ टुँडिखेलमा महोत्सव आयोजना गरेर शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने गरेका छन् । तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विक्रम संवत् १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएको स्मरणमा यहाँ हरेक वर्ष मकरसङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाका रूपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

माघ १ गते बोटे उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रायणी, त्रिवेणीलगायतका स्थानमा माघ नुवाइधुवाइ गर्ने भक्तजनको भिड लाग्दछ । यी स्थानमा आजको दिन भव्य मेला लाग्ने गर्दछ । महाभारत अनुसार भगीरथले सोही दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले यस दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम यज्ञयज्ञादि गर्न शुभ मानिएको छ ।

माघेसङ्क्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावका आधारमा पनि पुष्टि गर्न सकिन्छ । यो शास्त्रीय मान्यता हो । अझ यो पर्वमा तिलको विशेष महत्व रहेको छ । जसले यो समयमा छ प्रकारबाट तिलको उपभोग गर्दछ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने शास्त्रीय मान्यता छ । जस्तै– तिलपानी स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेलले बत्ती बाल्नु, पितृलाई तिलयुक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त परिकार खुवाउनु रहेको छ । माघेसङ्क्रान्तिबाट जाडो बिस्तारै हट्दै जाने र गर्मीको ताप बढ्दै जान्छ । 

प्राकृतिक रूपले मात्र नभएर धार्मिक दृष्टिकोणले पनि माघेसङ्क्रान्ति महत्वपूर्ण दिन हो । उत्तरायण सुरु भएपछि विभिन्न धार्मिक कार्य हुन थाल्छन् । विवाह, व्रतबन्ध व्रत प्रारम्भ र व्रत उद्यापनलगायत ठुलठुला यज्ञयज्ञादि हुने गर्दछन् । अतः यस्ता पर्वले धार्मिक, सांस्कृतिक सद्भाव बढाउने, सामाजिक रीतिरिवाजको जगेर्ना गर्नेलगायत आपसी भाइचारा कायम राख्न पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

 

   

Author

ब्रह्मदेव राधे