काठमाडौँ, पुस २९ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि मलेसियामा रहेको नेपाली महिला टोली पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग पराजित भएको छ ।
मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको हो । जितका लागि एक सय १० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय रनमा समेटिएको थियो ।
नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन बनाउनुभयो । कप्तान पूजा महतो र किरणकुमारी कुँवरले १८÷ १८ तथा सोनी पाख्रिनले १५ रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिजकी अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले दुई दुई तथा केनिका क्यासरले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय नौ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान समरा रामनाथले सर्वाधिक २५ रन बनाउनुभयो ।
यस्तै असाबी क्यालेन्डरले २३, जजारा क्याक्टनले २२ र एबिगेल ब्रायसले १९ रन जोड्नुभयो । बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले एक एक विकेट लिनुभयो । नेपालले विश्वकप अघि अर्को अभ्यास खेल बुधबार अमेरिकासँग खेल्नेछ ।
माघ ५ गतेदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छ ।
नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज रहेका छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छ । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छ ।
नेपालले गत कात्तिकमा भएको एसियाली छनोट खेलमा युएईलाई आठ विकेटले हराउँदै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो । विश्वकपमा छनोट भएकै कारण नेपालले हालै मलेसियामा भएको एसिसी महिला यु–१९ एसिया कप खेल्ने मौका पनि पाएको थियो ।