• १२ साउन २०८१, शनिबार

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

संसद् भवनमा राष्ट्रपतिको दुई घण्टा (फोटो फिचर)

blog

काठमाडौं, जेठ १० गते। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नीति कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको थियो। 

राष्ट्रपति संसद् भवनमा उपस्थिति हुनुहुने भएपछि संसद् भवन परिसर झकिझकाउ गरिएको थियो। संसद् भवनको मुख्यद्वार अगाडि रहेको पानीको फोहोराले संसद्‍मा आमन्त्रण गरिएका विशिष्ट व्यक्तिलाई स्वागत गरेको थियो। संसद् सचिवालयले विशेष अवस्थामा मात्रै उक्त पानीको फोहोरा सञ्चालनमा ल्याउने गर्दछ।

 संसद् भवन परिसरमा राष्ट्रिय झण्डा र विभिन्न ध्वजापताका सजाइएको थियो। संसद् भवन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संसद् सचिवालयका कर्मचारीले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो। नेपाली सेनाको परमाधिपतिसमेत रहनुभएका राष्ट्रपतिलाई सेनाको एक टुकडीले राष्ट्रिय गानसहित सलामी अर्पण गरेको थियो।


 राष्ट्रपतिबाट नीति कार्यक्रम प्रस्तुत गर्ने रोष्ट्रममा समेत फूलहरुले सजाइएको थियो। संसद्को रोष्ट्रममा सभामुख र अध्यक्षको बीचमा बसेर नीति कार्यक्रम वाचन गर्ने व्यवस्था मिलाइएको थियो। सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो।

संसद् भवनमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। दुई घण्टा लामो नीति तथा कार्यक्रमको प्रस्तुतिपछि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्नुहुँदा दुवै सदनका सदस्यले ताली बजाएर राष्ट्रपतिलाई बिदाई गर्नुभएको थियो।  

तस्बिर: केशब गुरुङ, शेखर चौलागाई र संघीय संसद्‍ सचिवालय