सहदेव बस्नेत
जाजरकोट, पुस २९ गते । जाजरकोटको एक वडाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनु पर्ने निर्णय गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं ४ ले आफ्नो वडा भित्र हुने विवाहका लागि अनिवार्य रूपमा वडा कार्यालयको सिफारिस लिनु पर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष बद्री पन्तले विकराल रूपमा बढ्दै गइरहेको वाल विवाहलाई न्यूनीकरण गर्नका लागि आफ्नो वडाले यस्तो निर्णय गनु परेको बताउनु भयो । आफ्नो वडामा आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ३२ वटा भएका विवाह मध्य १६ वटा वाल विवाह भएको तथ्याङ्क रहेको समेत वडा अध्यक्ष पन्तले जानकारी दिनु भयो । बढ्दो बालविवाह र अर्को तर्फ वडालाई बालमैत्री वडा घोषण अभियान समेत सञ्चालन भइरहेकाले पुस २६ गते बसेको वडा समितिले यस्तो निर्णय गर्नु परेको पन्तको भनाई छ ।
यसरी वडाले लिएको निर्णयलाई सरोकारवालाहरूले सकारात्मक कदम भएको बताएका छन् । बाल अधिकार अभियन्ता राजेन्द्र विक्रम शाह वडाले लिएको निर्णयको स्वागत गर्दै कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु हुन्छ ।
नलगाड नगरपालिकाका उप प्रमुख देबका लामिछाने समाजमा व्याप्त रूपमा बढ्दै गइरहेको बालविवाह न्यूनीकरणका लागि वडाले लिएको निर्णय को कार्यान्वयनमा पालिकाको पूर्ण रूपमा साथ रहने बताउनु हुन्छ ।