बैतडी समाचारदाता
बैतडी, पुस २९ गते । वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण गर्न बैतडीमा पहिलो पटक जिल्लास्तरीय एकाइ गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको सभा हलमा हालै आयोजित कार्यव्रmममा डिभिजन वन कार्यालयका प्रमुख भरतप्रसाद भट्टको संयोजकत्वमा एकाइ गठन गरिएको हो । एकाइको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, नेपाली सेनाका गुल्मपति, प्रहरी कार्यालयका जिल्ला प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला हुलाक, कारागार कार्यालयलगायत ११ सदस्यीय एकाइ गठन गरिएको छ ।
एकाइ गठन गर्न सुदूरपश्चिम प्रदेशका क्षेत्रीय वन निर्देशक हेमराज विष्ट स्वयम् बैतडी पुग्नुभएको डिभिजन वन कार्यालय बैतडीका कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । एकाइको पहिलो बैठकबाट वन्यजन्तु अपराध नियन्त्रण गर्न तीन वटा निर्णय गरिएको उहाँले बताउनुभयो ।
बैतडीमा खास गरी मानव–वन्यजन्तु (चितुवा र बँदेल) सँगको बढी द्वन्द्व हुने गरेको छ । २०६८ सालयता बैतडीमा चितुवाको आक्रमणमा परेर २८ जनाले ज्यान गुमाएका छन् भने मानवले थापेको पासोमा परेर ३० भन्दा बढी चितुवा मरेका डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ ।
बैतडी जिल्लामा पासो थाप्ने, अवैध हतियार घरेलु बन्दुकले चोरीसिकारी गर्ने जस्ता अपराध हुने गरेको डिभिजन वन प्रमुख भट्टले जानकारी दिनुभयो । वनसम्बन्धी अपराध नियन्त्रण गर्न सरोकारवालासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
अवैध तरिकाले बन्दुक बोकेर वनमा हिँडिरहेका एक व्यक्तिलाई केही दिनअघि कानुन अनुसार मुद्दा चलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँले बैतडी जिल्ला मानव–वन्यजन्तु द्वन्द्वका हिसाबले जोखिमयुक्त जिल्ला भएकाले पारिस्थितिक प्रणालीमा खलल पुग्ने किसिमका काम रोक्न सरोकारवाला जुट्नुपर्ने बताउनुभयो ।