• २९ पुस २०८१, सोमबार

बाढीपीडितले अझै पाएनन् राहत

blog

प्रशासनमा राहत माग गर्दै बाढीपीडित ।

मार्तडी समाचारदाता

मार्तडी (बाजुरा), पुस २९ गते  । बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । विसं २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका पीडित नागरिकले अहिलेसम्म राहत तथा क्षतिपूर्ति रकम पाएका छैनन् । क्षतिपूर्तिका लागि बेला बेला प्रशासन धाउँदा पनि सुनुवाइ नभएको गुनासो बाढीपीडितले गरेका छन् ।  

बाढीपीडितले पहिलो किस्ताको पनि आधा रकम मात्र पाएको पीडित किसन कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो किस्तामै ५० हजार पाउनुपर्ने थियो तर हामीलाई ३५ हजार मात्र रकम दिइएको छ ।” बाढीपहिरोबाट विस्थापित भएको पाँच वर्ष भयो तर हालसम्म पहिलो किस्ताकै पूरा रकम नपाएको उहाँले गुनासो गर्नुभयो । बाढीपहिरोबाट विस्थापित भएपछि प्रशासनमा राहतका लागि निवेदन दियौँ । सरकारले पूर्ण क्षति भएकालाई मात्र राहत दिने भएपछि प्रमाण पेस गर्न भनियो, प्रमाण पेस ग¥यौँ तर अहिलेसम्म राहत तथा क्षतिपूर्ति रकम नपाएको उहाँले दुःखेसो पोख्नुभयो । 

बाढीपीडित टीका नाथका अनुसार सरकारले बाढीपीडितलाई घर बनाउनका लागि पाँच लाखसम्म दिने भनेर सबै विवरण सङ्कलन गरेर लगेको थियो । रकम दिन्छ भनी विश्वास लागेर ऋण लिएर घर बनायौँ तर हालसम्म त्यो रकम नपाएपछि पीडितहरू झन् पीडामा गएका छन् । उहाँले भन्नुभयो, “साहुले पैसा मागिरहेका छन्, पैसा छैन, कसरी ऋण तिर्ने हो ।” 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार बडीमालिका नगरपालिकाका बाढीपीडित नागरिकका लागि विपत् व्यवस्थापन समितिले जम्मा ३७ परिवारलाई ३५ हजार रुपियाँका दरले रकम भुक्तानी गरेको छ । सङ्घीय सरकारबाट बजेट नआउँदा पीडित परिवारको राहत तथा क्षतिपूर्तिको रकम भुक्तानी गर्न नसकिएको उहाँले बताउनुभयो । पीडित परिवारले घर निर्माणका लागि पाउनुपर्ने पाँच लाख रुपियाँमध्ये ३५ हजार मात्र भुक्तानी भएको अधिकारी पाध्याको भनाइ छ ।  

बाढीबाट घरविहीन भएका परिवारको नामावली स्थानीयस्तरमा सङ्कलन गरेर पठाएको तथ्याङ्क अनुसार मनसुनजन्य विपत्का लागि १५ करोड रुपियाँको माग गरेको उहाँले बताउनुभयो तर माग अनुसारको बजेट आउन नसकेको उहाँले बताउनुभयो । अहिले तत्काल मनसुनजन्य विपत्का लागि मात्र छ करोड ४५ लाख रुपियाँ आएको उहाँले बताउनुभयो ।