• ८ वैशाख २०८२, सोमबार

पाथीभरा वन समूह अध्यक्षमा सेम्बु निर्वाचित

blog

पाथीभरा सिम्बु सामूदायिक वन उपभोक्ता समूहको साधारणसभाका अतिथि।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २८ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थि पाथीभरा सिम्बु सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अमृत सेम्बु लिम्बू निर्वाचित हुनुभएको छ। आफ्ना प्रतिद्वन्द्वी दिनेश राईलाई पराजित गर्दै सेम्बु समूहको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

समूहको कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा ६७ मत प्राप्त गरी सेम्बु निर्वाचित हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी राईले ५८ मत प्राप्त गर्नुभएको थियो। यस्तै समूहको उपाध्यक्षमा टेकबहादुर बिष्ट निर्वाचित हुनुभएको छ। अर्का प्रत्यासी तुलसी भट्टराईलाई दुई मतको अन्तरले पराजित गर्दै बिष्ट निर्वाचित हुनुभएको हो। बिष्ट ५८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो भने भट्टराईले ५६ मत पाउनुभएको थियो।

सचिवमा ताराकुमारी लिम्बू र सहसचिवमा लालबहादुर बिष्ट निर्वाचित हुनुभएको छ। सचिवमा निर्वाचित लिम्बूले ५५ र सहसचिवमा बिष्टले ६० मत प्राप्त गर्नुभएको थियो। सचिवका पराजित उम्मेदवार झुनाकुमारी लिम्बूले ५४ र सहसचिवमा टेकबहादुर भट्टराईले ५० मत पाउनुभएको थियो। समूहको कोषाध्यक्षमा प्रतिद्वन्द्वी मनिता रोक्कालाई पराजित गर्दै इन्दिरा कार्की (बिष्ट) निर्वाचित हुनुभएको छ। कार्कीले ५८ मत प्राप्त गरी निर्वाचित हुँदा रोक्काले ५३ मत मात्र पाउनुभयो।

समूहको सातौं साधारणसभामा सर्बसम्मत हुन नसकेपछि कार्यसमितिको पदाधिकारीका लागि निर्वाचन भएको हो। समूहको २१ सदस्यीय कार्यसमिति चयन हुँदा पदाधिकारीबाहेक सदस्य पदमा भने सर्बसम्मत भएको छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

समूहको साधारणसभामा पाथीभरा सव–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत देवचन्द्र गोइत, फरेष्टर फुपुग्याबु शेर्पा, फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई (योगेश), फुङ्लिङ नगरका पूर्व उपप्रमुख बमबहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, फुङ्लिङ नगरपालिकाका अध्यक्ष अम्बर विककोसमेत उपस्थिति रहेको थियो।