काठमाडौँ, पुस २७ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत शनिबारको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध एक सय २१ रनको फराकिलो अग्रता लिएको छ ।
वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा शनिबार भएको खेलमा फलो अनमा रहेको मधेशले दोस्रो इनिङ्समा विना विकेटको क्षतिमा दुई रनमा अविजित छ । मधेशका हिमान्शु दत्त र मायन यादव अविजित हुनुहुन्छ । मधेशले आइतबार यही अवस्थाबाट दोस्रो दिनको सुरुवात गर्नेछ ।
पहिलो इनिङ्समा एक सय दुई रनमा अलआउट भएको मधेशले फलो अनको सामना गर्नुपरेको हो । मधेशका लागि कप्तान हरिशंकर साहले ३१, अभिषेक तिवारीले १३, मायन यादवले ११ र प्रदीप पासवानले १० रन बनाउनुभयो ।
बलिङमा आर्मीका शाहब आलमले ६ विकेट लिनुभयो । यस्तै सोमपाल कामी, बसिर अहमद र पवन कार्कीले एक एक विकेट झार्नुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २२५/९ को स्थितीमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन बनाउनुभयो ।
उहाँले ९८ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै भीम सार्कीले ५२ र इम्रान शेखले ४२ रन बनाउनुभयो । बलिङमा मधेशका रञ्जित कुमारले पाँच विकेट लिनुभयो । प्रदीप पासवानले दुई तथा अभिषेक तिवारी र हरिशंकर साहले एक एक विकेट झार्नुभयो ।
यसैगरी जनकपुरमा भएको खेलमा शनिबारको खेल सकिँदा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ९५ रनको अग्रता लिएको छ । दोस्रो इनिङ्स खेल्दै बागमतीले चार ओभरमा विना विकेटको क्षतिमा आठ रन बनाएको छ । बागमतीका इशान पाण्डे र रित गौतम अविजित हुनुहुन्छ ।
यसअघि नेपाल पुलिस क्लब आफ्नो पहिलो इनिङ्समा ४५.५ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १५ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठ र अर्जुन साउदले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
अमितले सर्वाधिक ७९ र अर्जुनले ७७ रन बनाउनुभयो । गुलशन झाले १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिनुभयो । नन्दन यादव र प्रतिश जिसीले दुई दुई तथा रिजन ढकालले एक विकेट लिनुभयो ।