गुणबहादुर रोका
सुलीकोट, पुस २७ गते। पृथ्वी नारायण शाहको ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसर पारेर शनिबार बिहान ठुलो आँगनस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ।
गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले शालिकमा माल्यार्पण गर्नुभयो। कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा राष्ट्र निर्माता सलामी दिएका थिए।
गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालय गोरखाको संयुक्त आयोजनमा कार्यक्रम भएको हो। उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, उपमेयर मसाली मायाँ थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवान् बाबु मास्के लगायतले मन्तव्य राखेका थिए।
त्यस्तै राष्ट्रिय एकता दिवसको अवसर पारेर राप्रपा नेपाल जिल्ला कार्यसमितिले कार्यक्रम गरेको छ। गोरखा संग्राहलयको कार्यक्रमलाई राप्रपा जिल्ला अध्यक्ष भवमान मल्लले मन्तव्य राख्नुभएको थियो।
राप्रपा नेपालले आयोजना गरेको कार्यक्रम राप्रपा नेपालका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता र राजसंस्था प्रति आस्था राख्ने नागरिकले गोरखाको हरमटारी चोकबाट निकालिएको बाजागाजा सहितको टोली कालीकाटी, बिसौनीमोड बसपार्क हुँदै गोरखा संग्रहालय भित्र पुगेर कार्यक्रममा परिणत भएको थियो।