• १० माघ २०८१, बिहिबार

'सङ्घीयताले पहुँच र प्रतिनिधित्व बढाउँछ'

blog

साइबर सुरक्षा र एआइ सम्बन्धी अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा सहभागीहरु । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण

महोत्तरी, पुस २६ गते । मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सङ्घीयताकै कारण जनताहरुले सिंहदरबारबाट पाउने सेवाहरु आफ्नै गाउँठाउँबाट पाइरहेको बताउनुभएको छ । महोत्तरी जिल्लाको जलेश्वरमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशले शुक्रबार आयोजना गरेको साइबर सुरक्षा र एआइ सम्बन्धी कार्यक्रममा प्रमुख अतिथीको रुपमा उहाँले त्यस्तो बताउनुभएको हो । 

उहाँले १५ वर्ष अगाडी देशको महत्वपूर्ण निकायमा महिला, मुस्लिम, मधेशीलगायतका पहुँच र प्रतिनिधित्व नरहेको अवस्थामा सङ्घीयताले नै ती पहुँच र प्रतिनिधित्व बढाएको बताउनुहुँदै सङ्घीयताको उपलब्धि रुपमा यसलाई लिन सकिने बताउनुभयो । विगतमा दोश्रो, तेस्रो दर्जाको नागरिकको रुपमा रहेकाहरुलाई समुचित पहुँच र प्रतिनिधित्व सङ्घीयताले नै सम्भव भएको बताउनुहुँदै सङ्घीयताले केही भएन भन्नु गलत भएको जिकिर गर्नुभयो । उहाँले देशलाई अगाडी बढाउन हरेक नेपाली नागरिकको जिम्मेवारी र दायित्व भएको बताउनुहुँदै सबैले आफ्नै ठाउँबाट गर्ने हो भने नेपालमा परिवर्तन सम्भव भएको बताउनुभयो । 

उहाँले आफू शिक्षा मन्त्री हुदाँ नै शिक्षा नीति ल्याएको सम्झिनुहुँदै मधेश सरकारको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत नै मधेश प्रदेशमा तिनवटा विश्वविद्यालय तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनलगायतका कामहरु भएको जानकारी दिनुभयो । उहाँले नेपाल पत्रकार महासंघ शाखा कार्यालयहरुलाई विगतदेखि नै मन्त्रालयले सहयोग गर्दै आइरहेको बताउनुहुँदै आगामी दिनहरुमा समेत सहयोगलाई निरन्तरता दिइने बताउनुभयो । 

कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका क्षेत्रमा काम गर्न र अध्ययन गर्न इच्छुकहरुको लागि मधेश प्रदेशका चार पत्रकारको नाममा छात्रवृत्ति कोष स्थापना गरिने बताउनुभयो । उहाँले मधेश प्रदेश मिडिया काउन्सिलका पूर्व अध्यक्ष शिवहर भट्टराई, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, महिला पत्रकार उमा सिंह, बाराका पत्रकार विरेन्द्र साहको नाममा छात्रवृत्ति स्थापना गरिने जानकारी दिनुभयो ।

उहाँले विगतमा मधेश प्रदेशमा सक्रिय रुपमा लागेका १५० महिला पत्रकारहरुको विमा गरिएको जानकारी दिनुहुँदै यस वर्ष प्रदेशका ८०० सक्रिय पत्रकारहरुलाई स्वास्थ्य उपचार बिमा तथा दुर्घटना विमा गरिने वताउनुभयो । उहाँले प्राधिकरणले गरिरहेको कामहरुको जानकारी गराउनुहुदै पत्रकारहरुको क्षमता विस्तारको लागि साइवर सुरक्षा र एआई सम्बन्धी अभिमुखिकरण तालिम प्रदेशमा आयोजना भइरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेशकुमार दासको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री सुरिता कुमारी साह लगायतकाहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।