• १० माघ २०८१, बिहिबार

‘कालिज फर्ममा चितुवा पसेपछि’

blog

कृषि फर्मको जाली बाहिरबाट लिइएको चितुवाको तस्बिर ।

प्रनिश गिरी 

कुश्मा (पर्वत) पुस २६ गते । पर्वतको एक गाउँपालिकामा रहेको एक कृषि फर्ममा चितुवा पसेर कालिज मारेपछि कृषकलाई करिब ७ लाख बराबरको आर्थिक क्षति भएको छ । 

जलजला गाउँपालिका वडा –५ कुवापानीमा रहेको कृषक हर्कबहादुर पुनको एनिपादह कृषि तथा पशुपंक्षी फर्ममा बुधवार दिउँसो चितुवा तारजाली नाघेर छिरेको थियो । 

विगत ४ वर्षदेखि करिब ४० लाख लगानी गरी सञ्चालनमा रहेको कालिज फर्ममा भालेपोथी गरी माउ उमेरका करिब १ हजार ८० वटाको सङ्ख्यामा कालिज पालिएका थिए । बुधबार दिउँसो फर्मभित्र छिरेको चितुवालाई शुक्रवार बिहान मात्र नियन्त्रणमा लिइएको थियो । 

जिल्ला वन डिभिजन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकको अगुवाइमा पोखराबाट आएका वन्यजन्तु उद्धार टोलीले चितुवालाई जीवितै नियन्त्रणमा लिन सफल भएको छ । वनअधिकृत विकका अनुसार बिहीबार बेलुकातिर फर्म पुगेको टोली चितुवा नियन्त्रणका लागि रातभर नै फर्ममा बस्नु परेको थियो । 

जिल्ला वन अधिकृत विकले उद्धार गरी ल्याइएको चितुवाको अवस्था हेरी धनजनको क्षति नहुनेगरी सुरक्षित स्थानमा छाडिने बताउनुभयो । चितुवा ४० केजीभन्दा माथिको पाको उमेरको रहेको बताइएको छ ।   

बेलायती सेनाबाट सेवानिवृत्त रहेका फर्म सञ्चालक पुन केही समयदेखि बेलायततिर नै हुनुहुन्छ, भने उहाँकै नजिककै नातेदार पर्ने ६० वर्षे मनबहादुर फकामीले फर्मको रेखदेख गर्दै आउनुभएको छ । 

कृषक फकामीका अनुसार फर्ममा पसेर चितुवाले आक्रमण गरेपछि च्यातिएको जालीको प्वालबाट करिब २ सय कालिज उडेर भागेका थिए । २५ वटा कालिज मारिएको अवस्थामा फर्ममै भेटिएका छन् । केही कालिजलाई चितुवाले खाएर खुट्टा, टाउको, पखेटा छाडिएको फर्मभित्र देखिन्छ । 

वडा अध्यक्ष तिलकबहादुर जिसीका अनुसार करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको कृषिफर्ममा लगाइएको ७ फिट उचाइको तारजाली पार गरेर चितुवाले कालिजलाई आक्रमण गरेको हो । चितुवाले यसअघि बाख्रा, कुकुर र गाईवस्तुलाई आक्रमण गर्दै आएको भए पनि यसपाली कालिज फर्ममा पहिलो पटक आक्रमण गरेको अध्यक्ष जिसीले बताउनुभयो ।