काठमाडौँ, पुस २६ गते । माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो ।
‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । बर्सौँ पहिले त्यहाँ धेरै फाँटहरू थिए जहाँ उखुखेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट भन्ने बुझिन्छ । पहिले पहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्यः’ भनिन्थ्यो । पछि अपभ्रंश हुँदै टोखा भन्न थालियो । टोखामा सामूहिक उखुखेती गरेर त्यहीँको उखुले परम्परागत रूपमा चाकु बनाउने गरिन्थ्यो । तर अहिले गुठीको जग्गा विक्री हुँदै मासिएपछि टोखामा अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन गरिँदै आएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउन भ्याई नभ्याई छ । सुरुसुरुमा उपत्यकामा मात्र चाकुको माग हुने भए पनि अहिले देशभरबाट माग आउन थालेको चाकु व्यवसायीहरू बताउँछन् । चाकु खाँदा शरीरमा चिसो नपस्ने र रोगसँग लड्न सक्ने क्षमता विकास हुने विश्वास गरिन्छ ।
टोखामा चाकु बनाउन व्यवसायीहरू त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ । टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरूका लागि समाज नै गठन गरिएको छ । मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताउनुहुन्छ । उहाँले बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको बताउनुभयो । बजारमा सख्खरको मूल्य बोरामा दुई÷तीन सय रुपियाँले बढेको भए पनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको उहाँको भनाइ छ । टोखामा चाकुको भाउ प्रतिकिलो १०० रुपियाँदेखि १४० रुपियाँसम्म रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आफूहरूले चाकुको मूल्य तोक्नको लागि बैठक नै आह्वान गरेको भए पनि बिचौलियाको कारण समस्या भएको उहाँको दुःखेसो छ । बिचौलियाहरूलाई चाकु धेरै दिन राख्न नमिल्ने भएका कारण सस्तोमा दिन्छन् भन्ने सोच विकास भएको कारण आफूहरूले उचित मूल्य पाउन नसकेको श्रेष्ठ गुनासो गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हामी चाकु सँगसँगै माघे सङ्क्रान्तिका लागि चाहिने अन्य परिकार पनि बनाइरहेका छौँ । जस्तो परिकारको अर्डर आयो त्यसैअनुसार बनाइरहेका छौँ । यःमरी पूर्णिमामा विशेष गरी मसलाबिनाको चाकु नै खाने परम्परा छ । कोही मसलेदार चाकुहरू खान आउनुहुन्छ ।
अहिले सख्खरको मूल्य चाहिँ बोरामा दुई,तीन सय मूल्यले बढेको छ । तर हामीले चाकु पुरानै मूल्यमा दिइरहेका छौँ । हामीले टोखा परम्परागत चाकु संरक्षण समाजबाट मूल्य तोक्ने भनेर मिटिङ बसेका थियौँ । तर बिचौलियाहरूले गर्दा हामीलाई नै समस्या पार्न खोज्यो । हामीसँगै ललितपुर र भक्तपुरमा पनि मङ्सिरदेखि नै चाकु बनाउनुहुन्छ । कामदार पनि धेरै राख्नुहुन्छ । चाकुलाई धेरै समय स्टक राख्न नहुने भएका हुनाले अहिले सस्तो दिइहाल्यो भनेपछि पनि सस्तो दिइहाल्छ भनेर बिचौलियाहरूले रेट बिगार्ने काम भयो । जति चाकु बनाउनका लागि मेहनत परिश्रम लाग्छ त्योअनुसारको नाफा छैन । हामीले घरसम्मै आउने ग्राहकलाई प्रतिकिलो चाकु १३५ रुपियाँमा दिइरहेका छौँ । तर त्यही चाकु बजारमा गइसकेपछि २०० रुपियाँभन्दा माथि जाने सम्भावना छ ।’
तेस्रो पुस्ताले धानेको चाकु व्यवसाय
टोखावासीले चाकु बनाउन थालेको बर्सौँ भयो । अहिले टोखाको तेस्रो पुस्ताले चाकु व्यवसाय धानिरहेको छ । सुरुमा उखु उत्पादन धेरै हुन्थे । समयक्रमसँगै उखु उत्पादन हराउँदै गएपनि टोखावासीले चाकु उत्पादन गर्ने पुर्खाको परम्परा भने छोडेनन् । अहिले चाकुका लागि आवश्यक कच्चा पदार्थ तराई क्षेत्रबाट ल्याइने गरेको छ । टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले चाकु व्यवसाय सुरु तीन पुस्ता भएको सम्झिँदै भन्नुभयो, ‘हामीले चाकु व्यवसाय सुरु गरेको तीन पुस्ता भएको छ । बाजेले बनायो, बुवाले बनायो अहिले म तेस्रो पुस्तामा काम गरिरहेको छु । चाकुको व्यापार सिजनल व्यापार हो । सिजनमा चकाचक त भइहाल्छ नै । हामीलाई सिजनमा चाकुको माग पूर्ति गर्न धेरै नै गाह्रो छ । काम गर्नको लागि म्यान पावर पुगेको हुँदैन ।’
चाकु व्यवसायको पुस्तान्तरण हुँदै जाने उहाँको विश्वास छ । माघे सङ्क्रान्ति नजिकिएसँगै चाकु बनाउन बिहान ४ बजेदेखि ११ बजेसम्म खट्ने गरेको उहाँले सुनाउनुभयो । चाकुले चिसो हटाउन सहयोग गर्ने र सुत्केरी आमाका लागि फाइदाजनक हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
चाकुलाई नेपाली चकलेटको रूपमा चिनिने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरू बताउँछन् । चाकु नेपाली चकलेटको रूपमा काठमाडौँ उपत्यकामा मात्र नभई उपत्यका बाहिरका सहरहरूमा समेत माग बढेको र अमेरिका बेलायत लगायतका देशहरूबाट समेत माग आउने भएकोले यसको ब्राण्डिङ गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । चाकुका लागि आवश्यक पर्ने सख्खर बाहिरबाट मगाउनुपर्ने बाध्यता रहेकोले यसको गुणस्तरलाई नापेर ब्राण्डिङ गर्न तीन तहको सहकार समन्वयकारी भूमिका खेल्न आवश्यक रहेको व्यवसायीहरू बताउँछन् ।
चाकु व्यवसायीलाई सरकारले सहयोग नगरेकाे गुनासाे
चाकुको माग बढेर धान्न नसक्ने स्थिति पुगेको भए पनि अहिलेसम्म सरकारले भने केही सहयोग नगरेको व्यवसायहीहरुको गुनासो छ । आफ्नो तीन पुस्ताले चाकुको व्यवसाय गरेरै जीवन धानेको भए पनि सरकारले प्रोत्साहन नगरेको टोखा चाकु प्रोडक्शनका सञ्चालक हंसराज श्रेष्ठको दुखेसो छ । सरकारले सहुलियतमा कच्चापदार्थ र आवश्यक सामानहरू उपलब्ध नगराएको कारण समस्या भोग्नुपरेको उहाँको भनाइ छ । टोखाको चाकुको विदेशमा समेत माग बढ्दै गइरहेको भए पनि सरकारले विदेश पठाउन स्वीकृति नदिँदा बिचौलियाकै भर पर्नुपरेको उहाँको भनाइ छ । सञ्चालक श्रेष्ठले चाकुको सिजनमा मात्र सरकार सक्रिय हुने र सिजन सकिएसँगै निष्क्रिय हुने प्रवृत्तिले चाकु व्यवसायीहरू निराश हुनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिले टोखामै उखु उत्पादन गरिन्थ्यो । यहाँ नै त्यो उखु पकाउँथ्यो । अहिले उखुखेती त छैन । हामीले तराईबाट सख्खर ल्याएर बनाउने गर्छौँ । हाम्रो बजार भाउ धेरै भइसक्यो एकनासकै छ । १०० देखि १४० सम्म विक्री गर्ने गरेका छौँ । अहिलेसम्म सरकारी सहयोग छैन । स्थानीय सरकारले पनि हामीलाई त्यति सहयोग गरेको छैन । सरकारले हाम्रो लागि आवश्यक पर्ने सामानहरू सहुलियतमा व्यवस्थापन गरिदिनुपर्यो । हामीलाई बजार भाउ राम्रो दिनुपर्यो । हामीले टोखाको चाकु विदेश पठाउनका लागि पनि सरकारले हामीलाई स्वीकृति दिनुपर्यो । सिजनमा मात्रै प्रक्रिया सुरु हुन्छ । सिजन सकिएपछि काम अघि बढ्दैन ।’
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने प्रचलन रही आएको छ ।