नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अधिकांश क्षेत्रमा महिला सहभागिता बढेको छ । २०६२/६३ को जनआन्दोलनको सफलतापछि पुनस्र्थापित संसद्बाट महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्दै संविधान संशोधन भएसँगै बढेको महिला प्रतिनिधित्वले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सङ्ख्यात्मकसँगै गुणात्मक फड्को मारेको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि त देशका प्रमुख तीन पद नै महिलाले समालेको स्वर्णिम समय बन्न पुग्यो । एकै समय राष्ट्रपतिमा विद्यादेवी भण्डारी (२०७२ कात्तिक १२ देखि २०७९ फागुन २९ सम्म), प्रधान न्यायाधीशमा सुशीला कार्की (२०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म) र सभामुखमा ओनसरी घर्ती (२०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म) रहनुभयो । इतिहासमा कार्यपालिकाबाहेक न्यायपालिका, व्यवस्थापिका र राष्ट्रप्रमुखमा महिला भएको यो गर्विलो क्षण दुनियाँका मुलकमै सायदै भएको होला । यो नेपालका लागि मात्र नभई विश्वकै लागि उदाहरणीय विषय पनि हो ।
महिला सहभागिताका विषयमा आवाज उठिरहेका बेला निजामती क्षेत्रको नेतृत्वसमेत महिलाद्वारा गरियो । निजामती क्षेत्रमा उच्च नेतृत्व अर्थात् मुख्य सचिव बनेर लीला गड्तौलाले इतिहास रच्नुभयो । २०८१ असार ३१ गते कायममुकायम मुख्य सचिव हुँदै साउन १० देखि भदौ १४ सम्म उहाँले मुख्य सचिवको जिम्मेवारी समाल्नुभयो । उमेरहदका कारण अनिवार्य अवकाशमा जानुभए पनि उहाँको उत्तराधिकारीका रूपमा धेरै सचिव, सहसचिव र उपसचिव महिला अहिले निजामती सेवामा क्रियाशील छन् । माथि उल्लेख गरिएका विषय नेपालमा लोकतन्त्र स्थापना भएपछिका मात्र हुन् । त्यसअघि पनि धेरै महिलाले इतिहास रचेका थिए । त्यति मात्र नभई हामीले देखेका र नदेखेका धेरै सरकारी, गैरसरकारी तथा वित्तीय क्षेत्रमा समेत महिलाले नेतृत्व गरेका छन् । महिलाले नेतृत्व गरेका संस्थाहरू सफल पनि भएका छन् । अझ वित्तीय क्षेत्रमा त महिला नेतृत्वलाई उत्कृष्ट मान्ने गरिन्छ ।
यही परिप्रेक्ष्यमा २०८१ साल मङ्सिर २८ गते जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकै पटक निर्वाचन भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षमा निर्मला शर्मा निर्वाचित हुनुभएको छ । उहाँ निर्वाचित हुनुअघि पनि अनौठो संयोग जुरेको छ । पटक पटक निर्वाचन घोषणा गरिए पनि निर्वाचन हुन नसकेपछि अध्यक्ष विपुल पोखरेल पदबाटै राजीनामा गरेर बाहिरिनुभयो । अध्यक्ष पोखरेलको राजीनामापछि कार्यवाहक अध्यक्ष बनेका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट तीन दिनमै राजीनामा दिएर बाहिरिनुभएपछि महासङ्घ नेतृत्वविहीनताको सङ्कटमा फस्ने चिन्ता बढेको थियो । अध्यक्ष पोखरेल र वरिष्ठ उपाध्यक्ष विष्ट बाहिरिएपछि असरल्ल बनेको पत्रकार महासङ्घको नेतृत्व उपाध्यक्ष बाला अधिकारीको काँधमा आइपुग्यो ।
सशक्त मानिएका अध्यक्ष पोखरेल र वरिष्ठ उपाध्यक्ष विष्ट बाहिरिनुभएपछि अधिकारीमाथि महिलाले के गर्न सक्छन् र ? भन्ने प्रश्न गर्नेहरू धेरै थिए । अधिकारीले कार्यवाहकको भूमिका पाउँदै गर्दा सदस्यता विवाद नमिलेर धेरै जिल्ला र प्रदेश शाखामा तालाबन्दीको अवस्था थियो । जिल्ला र प्रदेश समितिमा भएका कतिपयले तत्कालीन अवस्थामा सार्वजनिक भएको सदस्यता स्वीकार गर्न नसक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । नेपाली पत्रकारहरूको छाता सङ्गठनको अस्तित्वकै प्रश्न सुरु भएको थियो । यस्तो सङ्कटमा उपाध्यक्ष अधिकारी कार्यवाहक नेतृत्व (२०८१ असोज ४ देखि २०८१ पुस ४ सम्म) ले महासङ्घलाई पुनर्जीवित गराएको छ । उहाँकै नेतृत्वमा सिङ्गो महासङ्घकै सुरक्षित अवतरण सम्भव भएको छ ।
जिल्ला र प्रदेश समितिलाई विश्वासमा लिँदै सङ्गठनहरूसँग सहकार्यको बलमा मङ्सिर २८ गते महासङ्घका सबै संरचनाको निर्वाचन सम्पन्न भयो । अरूले मुखले बोलेर, सामाजिक सञ्जालमा लेखेर उठाएका प्रश्नमा पत्रकार महासङ्घको नेतृत्व महिलाले राम्ररी गर्न सक्छन् भन्ने कुराको दृष्टान्त नै पेस गरेर कार्यवाहक अध्यक्ष अधिकारीले जवाफ दिनुभयो । त्यही जगमा पत्रकार महासङ्घको नेतृत्व शर्माको काँधमा आइपुगेको छ । महिलाले पत्रकार महासङ्घमा काम गर्न सक्छन् कि सक्दैनन् भन्ने धेरै प्रश्नको जवाफ उहाँले कामबाटै दिनुपर्ने छ । देशभरि फैलिएका महासङ्घका करिब १० हजार पत्रकारमाझ निर्वाचन जित्नु आफैँमा चुनौतीपूर्ण काम थियो । उहाँले पहिलो र महत्वपूर्ण सफलता पाइसक्नुभएको छ । अब कामबाट परिणाम निकाल्ने चुनौती सुरु भएको छ । अन्य पदमा समेत अध्यक्ष शर्माकै प्यानलका बहुमत पदाधिकारी र सदस्यहरू केन्द्रीय नेतृत्वमा आइसकेका छन् । नेतृत्वमा आएसँगै चुनौतीहरू पनि थपिएका छन् तर नेतृत्व भनेकै चुनौतीलाई अवसरमा बदल्ने जिम्मेवारी हो ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले पत्रकारिता के हो र के होइन भनी प्रश्न उठाएको बेलामा नेतृत्वले पत्रकारिता पेसाको संरक्षणका साथै पत्रकारको अधिकार र सुरक्षा सुनिश्चित गर्न पनि काम गर्नुपर्ने छ । पत्रकारिताप्रतिको विश्वास फर्काउने र पेसामा पारदर्शिता र उत्तरदायित्वको स्तर बढाउन पनि धेरै काम गर्नु छ । सञ्चारगृहदेखि कार्यस्थलमा हुने आर्थिक, सामाजिक र पेसागत सुरक्षाको विषय त प्रमुख चुनौती नै हो । कुनै घरको अभिभावक नै अपराधी भयो भने छोराछोरीका लागि बाँच्न नै चुनौतीपूर्ण भए जस्तै पत्रकारलाई काम लगाइरहेका कतिपय सञ्चारगृह नै पत्रकारमैत्री देखिएका छैनन् । रोजगारी सिर्जना गर्नेविरुद्ध नै आन्दोलन गर्नुपर्ने र काम गरेका आधारमा दिनुपर्ने सेवा सुविधाका लागि गुहार माग्नुपर्ने अवस्थाले चुनौती थप बढाएको छ ।
महिला सशक्तीकरणका क्षेत्रमा समेत लामो समयदेखि क्रियाशील रहेका आधारमा महासङ्घको नेतृत्वसँगै उहाँले महिला पत्रकारको सशक्तीकरण र महिला पत्रकारको नेतृत्वमा विशेष ध्यान दिनु जरुरी छ । बोलेर वा भाषणबाट मात्र होइन, पत्रकार महिलालाई विशेष अवसर सिर्जना गर्नु र अधिकार सुनिश्चित गर्नुपर्ने दायित्व पनि छ । महिलाका आवाजका साथै समाजलाई हेर्ने महिलाका दृष्टिकोणलाई स्थापित गर्न पनि आवश्यक छ । महासङ्घको नेतृत्व महिलाको हातमा हुँदा महिलाले आफ्नै सहकर्मी, कार्यालयका उच्च वा समान र तल्लो तहका व्यक्ति, पत्रकारकै नियामक निकायको नेतृत्व गरिरहेका वा अन्य सरोकारवालाबाट पीडित हुने अवस्था अन्त्य हुनु पर्छ ।
यस्तै डिजिटल पत्रकारिताले थपेको चुनौती चिर्दै साँच्चिकै पत्रकारिता के हो भनेर बुझाउनुपर्ने छ । अनलाइन मिडिया र सामाजिक सञ्जालको सकारात्मक उपयोगिताबारे बुझाउनु र पत्रकारिताको सर्वाङ्गीण विकास गर्नु जरुरी छ । पत्रकारका लागि प्रशिक्षण र तालिम कार्यशाला सञ्चालन गरी पत्रकारको व्यावसायिक दक्षता र नैतिक आचरण स्थापित गर्न पनि काम गर्नु पर्छ । यस पटकको निर्वाचनबाट केन्द्रमा मात्र नभई काठमाडौँ, मोरङ, मनाङ र रोल्पामा समेत अध्यक्ष पदमा महिला नै निर्वाचित भएका छन् । कोशी प्रदेशको महासचिवमा हिमा चेम्जोङ र कास्की प्रदेश समितिको महासचिवमा जमुना वर्षा शर्मा निर्वाचित हुनुभएको छ । त्यस्तै काठमाडौँ जिल्लामा शोभा अर्याल, मोरङमा सुशीला पाठक, रोल्पामा खुविना सुनारी मगर र मुस्ताङमा सुनदेवी रसाइली शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । महिलाकै लागि भनेर आरक्षण गरिएका र खुला पदमा समेत धेरै महिला निर्वाचित भएर आउनुभएको छ । यी महिला नेतृत्वले अहिले गरेको कामको मूल्याङ्कनका आधारमा आगामी दिनमा महासङ्घमा महिलाको उपस्थिति सुनिश्चित हुने छ ।
पत्रकार महासङ्घका सबै समिति र शाखामा कुनै न कुनै पदमा महिलाले प्रतिनिधित्व गर्नुभएको छ । महासङ्घको केन्द्रदेखि शाखासम्म महिलाहरू नेतृत्वमा आउनु महिला आन्दोलनमा लाग्नेका लागि अत्यन्तै खुसीको क्षण हो । अबको महासङ्घले महिलाको नेतृत्व सशक्त हुन्छ र परिणाममुखी पनि रहन्छ भन्ने कुरा स्थापित गर्न सक्यो भने महासङ्घको नेतृत्व गर्छाैं भनेर सही समयको पर्खाइमा बसेका महिला पत्रकारका लागि अवसरको ढोका खुल्ने छ ।