दमास्कस, पुस २५ गते । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबिच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुहरू विरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्किएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएको छ ।
सिरियाली युद्ध अनुगमन संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज र टर्की समर्थित नेसनल आर्मीबिच पछिल्लो केही घण्टायता मनबिजको ग्रामीण इलाकामा भीषण लडाइँ भएको जनाएको छ । उक्त क्षेत्रमा टर्कीएले हवाई आक्रमणसमेत सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ।
“दोहोरो झडपमा परी ३७ जनाको मृत्यु भएको छ,” बेलायतस्थित अब्जरभेटरीले जनाएको छ । टर्कीए समर्थित लडाकुमध्ये छ जना एसडीएफ लडाकु र पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ ।
मनबिजको ग्रामीण इलाकामा गत महिनादेखि जारी झडपमा परी कम्तीमा ३२२ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।
बुधबार अमेरिका समर्थित एसडीएफका प्रमुख मजलुम अब्दीले आफ्नो समूहले ‘सिरियाली भूमिको एकता र अखण्डता’लाई समर्थन गरेको बताउनुभएको थियो । एएफपीलाई दिएको लिखित रिपोर्टमा उहाँले सिरियाका नयाँ अधिकारीहरूलाई ‘सिरियामा युद्धविरामका लागि हस्तक्षेप गर्न’ आग्रह गर्नुभएको छ ।
गत महिनाको अन्त्यतिर कुर्दिश नेता र दमास्कसका अधिकारीहरूबीच भएको ‘सकारात्मक’ बैठकपछि अब्दीको यो टिप्पणी आएको हो ।
इस्लामवादी नेतृत्वको विद्रोहीहरूले नोभेम्बर २७ मा सिरियाली राष्ट्रपति बशर अल असदलाई अपदस्थ गर्ने आक्रमण सुरु गरेपछि उत्तरी सिरियामा टर्कीए समर्थित समूहहरूले एसडीएफसँग आफ्नो लडाइँ फेरि सुरु गरेका थिए ।
मनबिज क्षेत्रमा युद्धविराम स्थापना गर्ने अमेरिकी नेतृत्वको प्रयासका बावजुद अङ्कारा समर्थक समूहले उत्तरी अलेप्पो प्रान्तको कुर्दिश नियन्त्रित मनबिज र ताल रिफात कब्जा गर्न सफल भएका छन् । रासस/एएफपी