इमान सिं राना
रामपुर (पाल्पा), पुस २५ गते । शहीद बहुमुखी क्याम्पस रामपुरमा भएको महायज्ञमा चार करोड ४१ लाखभन्दा बढी दान सङ्कलन भएको छ । गत पुस १६ देखि २३ सम्म भएको धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा चार करोड ४१ लाख ५९ हजार ८६३ रुपियाँ दान सङ्कलन भएको हो ।
रामपुर नगरपालिका ७, किसानबारीमा भएको महायज्ञमा नगद दुई करोड ७५ लाख २६ हजार ५०२ रुपियाँ र एक करोड ६६ लाख ३३ हजार ३६१ रुपियाँ मूल्य बराबरको जग्गा प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक सुकदेव पोखरेलले बताउनुभयो । नगदमध्ये एक लाख ९५ हजार २१७ दानपेटिका बाट र दुई करोड ७३ लाख ३१ हजार २८५ रसिदबाट प्राप्त सङ्कलन भएको हो ।
क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन र टाढाबाट आउने विद्यार्थीका लागि छात्राबास निर्माण गर्ने उद्देश्यले भएको महायज्ञ १२ जना दाताले जग्गा दान गर्नुभएको थियो । घोषणा भएको केही रकम आउन बाँकी रहेकाले दान रकम अझ बढ्न सक्ने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।
यज्ञमा एक हजार ३४ मुरी बढी धान सङ्कलन भएको छ । कालीगण्डकी बेंसी क्षेत्रका ९६ वटाभन्दा बढी धान सङ्कलन केन्द्रबाट महायज्ञका लागि धान सङ्कलन भएको धान सङ्कलन उपसमितिका संयोजक ऋषिराम रेग्मीले जानकारी दिनुभयो । दान दाताले यज्ञस्थलमा गर्नुभएको दान उहाँहरुको इच्छाअनुसार रेकर्डमा नराखिएको उहाँले बताउनुभयो ।
मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले क्याम्पसका लागि भएको यज्ञ सबैको साथ र सहयोगले अत्यन्त उत्साहका साथ सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तीनदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा राखेका थियौं । लक्ष्यभन्दा बढी दान सङ्कलन भएको छ ।” महायज्ञ सम्पन्न भएसँगै बुधबार बसेको सचिवालयको बैठकले माघ १२ गतेभित्र आम्दानी खर्च सार्वजनिक गर्ने गरी तयारी अघि बढाएको जनाएको छ ।
यज्ञमा सङ्कलन भएको धान ३६ रुपियाँ केजी र चामल ७० रुपियाँ केजीको दरले बिक्री गर्ने निर्णय गरेको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिनुभयो । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलमार्फत प्रवचन भएको थियो ।