• २५ पुस २०८१, बिहिबार

भुक्तानी प्रक्रिया सहज बनाउन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण क्षेत्र सम्बद्ध व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको छ ।

निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न नेपाल निर्माण उद्योग परिषद्ले आग्रह गरेपछि प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीसँग परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्काहरूमा मूल्य समायोजनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । 

सो अवसरमा सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । सरकारलाई गुणस्तरीय मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गर्दै उहाँले लागत अनुमान गर्दा सम्भावित जोखिमलाई ध्यानमा राखिएको बताउनुभयो ।

उहाँले सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विगतमा भूकम्पपछिको पुनर्निर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्नुभयो ।