• २५ पुस २०८१, बिहिबार

दुई वर्षमा मनाङ आउने पर्यटकको सङ्ख्या दोब्बर

blog

मनाङमा विदेशी पर्यटक । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, पुस २४ ।
सन् २०२२ को तुलनामा सन् २०२४ सम्ममा मनाङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ भने सन् २०२३ को तुलनामा छ गुणाले वृद्धि भएको छ । २०२२ मा १५ हजार ८ सय ५५ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।

त्यसैगरी २०२३ मा आउँदा मनाङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या तीन गुणा घटेर पाँच हजार १९७ पुगेको थियो भने २०२४ सम्ममा सो सङ्ख्यामा बढोत्तरी भई ३० हजार ८ सय ६६ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पछिल्लो समय महिला पर्यटकको सङ्ख्या बढ्दै गए पनि मनाङ आउने पर्यटकमा पुरुषको बाहुल्य रहेको पाइन्छ । २०२४ मा १८ हजार चार सय ९९ पुरुष र १२ हजार तीन सय ६२ महिलाले मनाङ भ्रमण गरेको देखिन्छ । २०२३ मा पुरुषको सङ्ख्या तीन हजार एक सय नौ र महिलाको सङ्ख्या दुई हजार ८५ थियो भने २०२२ मा १० हजार तीन सय २५ पुरुष र पाँच हजार पाँच सय २७ महिला पर्यटकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, २०२४ मा ५, २०२३ मा ३ र २०२२ मा पनि ३ जना अन्य लिङ्ग उल्लेख गरिएको पर्यटकले मनाङ भ्रमण गरेका छन् । २०२२ मा विभिन्न ११५ मुलुकका पर्यटक मनाङ भित्रिँदा २०२३ मा आउँदा घटेर ८५ मुलुकमा सिमित हुन पुग्यो भने २०२४ मा यसको सङ्ख्या बढेर १२५ मुलुक पुगेको छ ।

कोरोनाको महामारीपछि मनाङ पुग्ने पर्यटकमा बढोत्तरी आएको एक्याप मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । पछिल्लो समय सडक मार्गको पहुँच, होटलहरूको सुविधाका कारण पनि मनाङमा विदेशी पर्यटक बढी आउने गरेको भुजेलले बताउनुभयो ।

हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले मनाङमा पर्यटकको आकर्षण बढेको भन्दै प्रमुख भुजेलले यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने बताउनुभयो ।

तीन वर्षको तथ्याङ्कलाई हेर्दा फ्रान्सेली पर्यटकले मनाङलाई बढी रुचाएको देखिन्छ । २०२२ मा दुई हजार तीन, २०२३ मा सात सय २८ र २०२४ मा तीन हजार तीन सय १६ पर्यटकले मनाङ घुमेर पहिलो रेकर्ड राखेका छन् । त्यसैगरी दोस्रोमा २०२२ मा एक हजार नौ सय ७९, २०२३ मा दुई सय ३० र २०२४ मा तीन हजार ६ इजरायलका पर्यटक मनाङ आएको देखिन्छ भने तेस्रोमा २०२२ मा एक हजार पाँच सय २८, २०२३ मा चार सय ६१ र २०२४ मा दुई हजार तीन सय ५५ जर्मनीका पर्यटकले मनाङ भ्रमण गरेका थिए ।

चौथोमा बेलायत, पाँचौंमा अमेरिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा नेदरल्यान्डस्, आठौंमा भारत, नवौंमा रसिया र दशौं नम्बरमा मनाङ भ्रमण गर्नेको सूचीमा छिमेकी राष्ट्र चीन छ ।

स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि विदेशी पर्यटकको अभिलेखीकरणअनुसार वार्षिक रूपमा मनाङ घुम्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको एक्याप मनाङले जनाएको छ ।