महेशकुमार दास
जलेश्वर, पुस २४ गते । महोत्तरीमा किशोर किशोरीहरु आ–आफनो स्वास्थ्य अधिकारबारे खुलेर बोल्न थालेको पाइएको छ । महोत्तरीको आठ वटा स्थानिय निकायमा किशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएपछि यहाँका किशोर किशोरीहरु आफ्नो स्वास्थ अधिकारका विषयमा खुलेर बोल्न थालेको पाइएको हो ।
युएसएडको सहयोग तथा केयर नेपालको नेतृत्व र आयोन, जापेजिओ र एचडिआईको प्राविधिक सहयोग र रतौली युवा क्लवको स्थानीय सहजिकरणमा २०७९ सालदेखि सुरु भएको किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रमको समिक्षात्मक कार्यक्रममा किशोर किशोरीहरु आफ्नो स्वास्थ्य अधिकारप्रति खुलेर कुरा गर्ने गरेको पाइएको छ ।
किशोर किशोरीहरु आफ्नो स्वास्थ्य अधिकार प्रति खुलेर मात्र होइन त्यस प्रति सचेत समेत हुँदै गइरहेको पाइएको हो ।
जिल्लाको गौशाला, औरही, सोनमा,सम्सी, रामगोपालपुर, भंगहा, लोहापट्टी, र बलवा पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । २०७९ सालदेखि सुरु भएको कार्यक्रम २०८४ सालसम्म चल्ने जनाइएको छ ।
किशोर किशोरी प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुको मुख्य लक्ष्य नै १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउनु रहेको समीक्षा कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गर्नुभएको थियो ।
किशोर किशोरीहरुलाई घरपरिवार तथा समुदायबाट स्वस्थ आचरणको अभ्यासद्वारा आफ्नो पूर्ण सक्षमतामा पुर्याउन सहयोग गर्ने र यसका साथै सार्वजनिक प्रणाली एवम् निजी संस्थाहरूलाई किशोरकिशोरी मैत्री सेवा सुविधा प्रदान गर्दै उत्पादकत्व वृद्धिको निम्ति सबलीकरण गर्दै जाने मुख्य लक्ष्य यस परियोजनाको रहेको रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले बताउनुभयो ।
कार्यक्रम सञ्चालन भएदेखि त्यहाँका किशोर किशोरीहरु आफ्नो स्वास्थ्यसम्बन्धी निर्णय लिने, यौन स्वास्थ्यका विषयमा खुलेर चर्चा गर्नुका साथै किशोरीहरुले बालविवाह रोक्ने लगायतका कार्यमा समेत सक्रियता बढाउन थालेको निर्देशक चौधरीले बताउनुभयो ।
समिक्षात्मक कार्यक्रममा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. श्रवण नायक, केयर नेपालको यस परियोजनाका प्रदेश संयोजक डा. विजय झा, कार्यक्रम सञ्चालनमा रहेका ८ वटै पालिकाका प्रमुख तथा उपप्रमुख र प्रशासकीय अधिकृतहरुले आआफ्नो धारणा राख्नुभएको थियो ।